चितवन विशेष

चितवनका दुई निर्वाचन क्षेत्रमा देवी ज्ञवालीको चर्चा, प्रचण्डसंग चुनाव लड्ने तयारी गरेका हुन् ?

Banner

चितवन,भदौ १७–

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवाली मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कहाँबाट उम्मेदवार होलान ? यो जिज्ञासा धेरैको हुनसक्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनदेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेका उनी यसपटक संघिय सांसदको रुपमा प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका छन् । उनी चितवन क्षेत्र नम्वर २ र ३ दुवै क्षेत्रमा निर्वाचन लड्ने चर्चा छ । उनलाई दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्न नेता कार्यकर्ताले अनुरोध गरिरहेका छन् ।

ज्ञवालीले भने कहाँबाट निर्वाचन लड्ने भन्ने अन्तिम निर्णय पार्टीको हुने बताएका छन् । ‘पार्टीले जहाँ निर्वाचन लड भन्छ, त्यसका लागि तयार छु, मैले भन्दापनि पार्टीले निर्णय गर्ने कुरा हो’, उनले भने, ‘जिल्लाका पार्टी नेता कार्यकर्ता र आम मतदाताले तपाई यसपटक उम्मेदवार बन्नुहोस भनेका छन् । कार्यकर्ताको चाहाना र पार्टीको निर्णय अनुरुप नै अगाडि बढ्छु ।’

उनले चितवनमा एमाले झन् बलियो शक्तिको रुपमा स्थापित हुँदै गइरहेको भन्दै जो उम्मेदवार बनेपनि चुनाव जित्ने दावी गरे । ज्ञवालीले पार्टीले निर्णय गरेको खण्डमा प्रचण्डसंग चुनाव लड्न तयार रहेको बताए । ‘प्रचण्ड त राष्ट्रिय समस्या हुन्’, ज्ञवालीले भने, ‘उनले देशलाई अस्थिर बनाउने काम मात्र गरिरहे ।’ यसपटकको निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट प्रचण्ड पराजित हुने ज्ञवालीको दावी छ ।

‘स्थानीय तहको मतलाई आधार मान्दा दलगत हिसाबले चितवन क्षेत्र नम्वर ३ मा अहिलेपनि एमाले पहिलो पार्टी हो । पाँच दलको गठबन्धन हुँदा उनीहरु केही माथि छन् । हामी पनि आवश्यक परे बैकल्पिक शक्ति खोजी गर्छाै । जसले हामीलाई निर्वाचन जित्न सजिलो हुन्छ’, उनले भने ।

चितवन क्षेत्र नं ३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले पनि चुनाव लड्ने तयारी गरेका छन् । यस क्षेत्रमा एमाले र राप्रपाको सहकार्यको चर्चा पनि छ । केन्द्रिय स्तरमै त्यसका लागि छलफल भइरहेको छ । चितवनमा काँग्रेसको असन्तुष्ट समूहले पनि एमालेसंग सहकार्य गर्न सक्ने कतिपयको आकलन छन् । स्थानीय तहमा भुइँकटहर चुनाव चिन्ह लिएर काँग्रेसबाट बागी उम्मेदवार दिएकाहरु यसपटक पनि चुनावको तयारी गरिरहेका छन् ।

उनीहरुसंगै एमालेको सहकार्य हुनसक्ने सम्भावना छ । यो अवस्थामा चितवन ३ मा एमालेको एकल उम्मेदवार बन्छ की अन्य पार्टीसंग गठबन्धन हुन्छ यसका लागि केही दिन पर्खनुपर्ने हुन्छ । चितवन ३ मा ज्ञवालीसंग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे, काँग्रेस कन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद रामकृष्ण घिमिरे चर्चामा रहेका नेताहरु हुन् । प्रचण्ड र विक्रम पाण्डेले निर्वाचन लड्ने भन्दै क्षेत्र लक्षित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

चितवन २ मा ज्ञवालीसंगै एमालेका वर्तमान सांसद कृष्णभक्त पोखरेलको चर्चा छ । यी दुई मध्ये एक एमालेको उम्मेदवार हुने निश्चित जस्तै छ । गठबन्धनका तर्फबाट राज्यमन्त्री उमेश श्रेष्ठ, काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व सभापति जीतनारायण श्रेष्ठ लगायतको चर्चा छ । चितवन २ एमालेको बलियो क्षेत्रको रुपमा स्थापित छ ।

ज्ञवाली २०६४ सालमा पनि चितवन २ बाट निर्वाचन लडेका थिए । त्यतिवेला उनी माओवादी केन्द्रका नारायण दाहालसंग पराजित भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा ज्ञवालीले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसंग प्रतिस्पर्धा गरे । कांग्रेसले टिकट दिएर मनोनयनका लागि भरतपुर आएका दिनेश कोइरालाको टिकट खोसेको घटनादेखि मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाले पनि भरतपुरले सबैको ध्यान खिचिको थियो । मतपत्र च्यातिएको घटनाकै कारण देवी ज्ञवाली पराजित हुनुप¥यो ।

०७४ सालको स्थानीय निर्वाचनपछि नारायणीको पानीझैं भरतपुरको राजनीतिक कोर्स पनि तरल नै बनिरहेको छ । स्थानीय निर्वाचनमा कांग्रेस–माओवादीको तालमेल, प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धन हुँदै फेरि राजनीतिक कोर्स कांग्रेस–माओवादी तालमेलमा फर्किएको छ । र, यसपटक पनि अघिल्लो निर्वाचनमा झैं मुख्यतः कांग्रेस–माओवादीको गठबन्धनसँग एमालेले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा ग¥यो । फेरी अहिले प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन र एमालेविच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

यसविचमा ज्ञवाली भूमि समस्या समाधान आयोगको अध्यक्ष बने । तत्कालीन ओली सरकारले समितिलाई भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकार दिँदै ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले देशव्यापी रुपमा धमाधम काम गरेको थियो । ओली सरकारको उक्त निर्णयलाई वर्तमान सरकारले खारेज गरिदियो ।

ज्ञवालीकै पालामा भएको कामलाई निरन्तरता दिँदै अहिलेको सरकारले सुकुम्बासीलाई निस्सा र पुर्जा वितरण गरिरहेको छ । ज्ञवाली गत मंसिरमा चितवनमै भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि पार्टीमा पनि उनको पकड बलियो हुँदै गएको छ । एमालेबाट प्रदेशसभामा उम्मेदवार हुन चाहानेहरुको नाम आज र प्रतिनिधि सभामा उम्मेदवार हुन चाहानेहरुको नाम भोलि प्रदेश सभामा सिफारिस हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>