Breaking News

मेरो क्षेत्रमा अमेरिकाका अर्थशास्त्रीहरु चुनाव लडे पनि केही फरक पर्दैन: सुरेन्द्र पाण्डे

Banner

चितवन, भदौं १६-

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो निर्वाचन क्षेत्र चितवन–१ मा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लडे खासै फरक नपर्ने बताएका छन् ।

उपाध्यक्ष पाण्डेले नारायणी अनलाइनसँग कुराकानी गर्दै कांग्रेसका चुनावी आकांक्षीहरुलाई लक्षित गर्दै जहाँको अर्थशास्त्री आए पनि आफू पनि पूर्वअर्थमन्त्री भएकोले खासै फरक नपर्ने बताएका हुन् । उनले अमेरिका र बेलायत जहाँ पढे पनि नेपाली अर्थशास्त्रको नेपाली दृष्टिकोण फरक हुने भन्दै आफ्नो निर्वाचन क्षेत्रमा नागरिकले भोगेका समस्याहरु र आवश्यकताहरु बुझेर सोही अनुसार विकास गर्न आफू सक्षम रहेको विचार राखे ।
उपाध्यक्ष पाण्डेले भने, ‘जो कोहीले निर्वाचन जिते पनि आफ्नो निर्वाचन क्षेत्रमा काम गरेर देखाउन नसकेमा जनसमर्थन प्राप्त गर्न सकिँदैन । म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु । महिनाको चारचोटी निर्वाचन क्षेत्रमा नै आउँछु , काठमाडौँ हुदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु । मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु । तसर्थ जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’

पूर्वअर्थमन्त्री पाण्डेले आफूले अघिल्लो निर्वाचनमा मतदातासँग गरेका कयौं चुनावी प्रतिबद्धता पूरा गरेको बताए । उनले भने, ‘मेरो मुख्यतया १० वटा मुख्य प्रतिबद्धताहरु थिए । जसमा कतिपयको काम चलिरहेको छ भने कतिपय अन्तिम चरणमा पुगेका छन् । सौराहामा सभाहल बनाउने, राप्तीदेखि सौराहासम्ममा ड्याक निर्माणको काम, जंगली जनावरबाट नागरिकलाई बचाउन लोथरसम्म वाल बनाउने काम, भण्डारा–मलेखु सडक, शक्तिखोरको औद्योगिक क्षेत्र निर्माण प्रक्रिया, खैरहनी रंगशाला र पूर्वी चितवनमा चक्रपथ निर्माण गर्ने काम मुख्य योजना हुन् । पूर्वी चितवनमा सुविधासम्पन्न अस्पताल बनाउने काम कोभिडको कारणले अगाडि बढ्न सकेन तर पनि यसलाई पूरा गरेर नै छाड्नेछु ।’

एमाले उपाध्यक्ष पाण्डेले बाँकी रहेका अधुरा विकासका योजनालाई पूरा गर्नको लागि आफू फेरि जनताको प्रतिनिधि बन्न चाहेको बताए । उनले भने, ‘अबको हाम्रो प्राथमिकता उत्पादन र रोजगारी बढाउने काममा केन्द्रित हुनुपर्छ । कृषियोग्य जमिनको व्यवस्थापन गर्दै उत्पादन नबढाएका कारणले देशमा आर्थिक संकट देखिएको हो ।’ उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनको लागि चितवनबाट एमालेका उम्मेदवारहरुको नाम संकलन गर्ने काम सुरु भइरहेको र भदौं २० गतेसम्ममा निश्चित खाका आउने बताए ।

पाण्डेले २०७४ सालको निर्वाचनमा चितवन–१ बाट कांग्रेसका प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४४२ मतले पराजित गरेका हुन् । पाण्डेले ५० हजार ८९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४५४ मत ल्याएका थिए । यसपटक पनि कांग्रेसबाट बुर्लाकोटीले अवसर पाएमा पाण्डे र बुर्लाकोटीको तेस्रो चुनावी प्रतिस्पर्धा हुनेछ । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । तर, यसपटक सोही क्षेत्रमा कांग्रेसबाट दुई अर्थशास्त्रीहरु डा स्वर्णिम वाग्ले र डा विश्व पौडेलले पनि आकांक्षा देखाएका छन् भने त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा तीर्थ खनियाले पनि निर्वाचन लड्ने आकांक्षा राखेर निवदेन दर्ता गरेका छन् । त्यसैगरी एकीकृत समाजवादीबाट प्रदेश मन्त्री कृष्णप्रसाद खनाल आकांक्षी छन् ।

को हुन् सुरेन्द्र पाण्डे ?

धादिङको गजुरीमा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका पाण्डेले चितवनबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि काठमाडौंमा क्याम्पसबाट राजनीति सुरु गरेका हुन् । पढाइमा मेधावी सुरेन्द्र चार्टर्ड एकाउन्टेन्टको सरकारी छात्रवृत्ति त्यागेर तत्कालीन मालेको भूमिगत राजनीतिमा होमिएका थिए । पाण्डे कुशल संगठक बनेर २०३५\३६ सालतिर प्रतिबन्धित मालेको कार्यकर्ता बनेर काठमाडौंको नेवार बस्तीमा भूमिगत बनेका थिए । भूमिगत राजनीति सुरु गरेको दुई वर्षभित्रै पाण्डे २०३६ देखि २०४६ सालमा एक दशक काठमाडौंको सचिव बनेका थिए । २०४८ सालको पहिलो आमनिर्वाचनमा सुरेन्द्र पाण्डे पार्टीभित्र कुशल संगठकका रूपमा परिचित थिए । उनी २०५४ सालमै राष्ट्रिय सभा सांसद बनेका उनी संविधानसभाको दुवै निर्वाचनमा चितवनबाट विजयी बने । सुरेन्द्र पार्टीको आन्तरिक संगठनमा निक्कै प्रभावशाली मानिन्छन् । एमालेबाट पूर्वअर्थमन्त्री समेत बनेका पाण्डे एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>