Breaking News

चितवनमा निर्माणाधिन कुमाल सङ्ग्रहालय अलपत्र, शिलान्यास भएको दुई वर्षमा एक तला पनि बनेन

०
Banner

प्रतिमा कुमाल

चितवन,भदौ १५–

बहुसांस्कृतिक हाम्रो समाजमा संंस्कार तथा संस्कृतिले आदिवासी जनजातिलाई अरु समुदायभन्दा फरक बनाएको छ । यसै अन्तर्गत चितवनमा सीमान्तकृत कुमाल समुदायको पनि आफ्नै मौलिकता भेटिन्छ ।  अल्पसंख्यक कुमाल समूदायको संस्कृति संरक्षण र सम्वद्र्धनमा यो समुदाय आफैँ सक्रिय रहे पनि तीनै तहको सरकारको आवश्यक दृष्टि पुग्न नसकेको समुदायका अगुवाहरु गुनासो गर्छन् । जसको एउटा उदाहरण निर्माणाधिन नेपाल कुमाल समाज सुधार समिति चितवनको जिल्ला सङ्ग्रहालय भवन बनेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–११ बोहोरा मार्गमा कुमाल समूदायको सङ्ग्रहालय भवन बन्दै छ । विसं २०७७ साल चैत ७ गते निवर्तमान उपमेयर पार्वतीशाह ठकुरीबाट यस भवनको शिलान्यास भएको थियो । करिब एक गठ्ठा सरकारी जमिनमा २०७८ साल देखि भवन निमार्णको काम सुरु भएको सङ्ग्रहालयका संयोजक खुसबहादुर कुमाले बताए । तर, २५ लाख ४३ हजार खर्चिदा पनि भवनको एक तला पनि बन्न नसकेको कुमालले बताए ।
उनले भने, ‘बन्दै गरेको कुमाल सङ्ग्रहालयका लागि महानगरले पाँच लाख, ११ नं. वडाले ८ लाख र सांसद पार्वती सिलवालको पहलमा बागमती प्रदेशबाट १२ लाख ४३ हजार रुपैयाँ बजेट पर्‍यो  । तर, जग्गा गहिराइमा भएकोले १८ फिट पुर्दा, जग हाल्दा, गारो लगाउदा, फिलिङ गर्दा नै यो रकम सकियो ।’ भवन निमार्णको क्रममा अझै दुई लाख ऋण रहेको कुमालले बताए ।

यो सङ्ग्रहालय पूर्णरुपमा निर्माण हुनको लागि एक करोड २५ लाख रुपैयाँ कुल खर्च लाग्ने अनुमान गरिएको छ । सरकार र सरकारवालाहरुको ध्यान नपुग्दा बाँकी रकम जुट्न नसकेको नेपाल कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले गुनासो गरे । उनले भने, ‘अहिलेसम्म २७ लाख ४३ हजार खर्च भइसक्यो । माग गरेको बजेटमा ढिलासुस्ती हुदा सङ्ग्रहालय बन्न युगौं लाग्ने भो ।’अध्यक्ष कुमालले संस्कार र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्न राज्य छिटो छरितो हुनुपर्नेमा जोड दिए । साथै उनले सङ्ग्रहालयलाई पूर्णता दिन सरकारदेखि हरेक क्षेत्रमा पहल गरिरहेको बताए ।

कस्तो बन्दै छ कुमाल सङ्ग्रहालय

कुमाल समुदायको लुकेको र लोप हुँदै गइरहेको संस्कृति, सभ्यता जगेर्ना गर्नको लागि सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ । बन्दै गरेको जिल्लास्तरीय यो भवन तीन तलाको हुने छ । यस भित्र सात वटा कोठाहरु हुनेछन् । सङ्ग्रहालयको दुईवटा तलामा कुमाल समुदायको मौलिक संस्कार, संस्कृति, सभ्यता झल्किने सामग्री राखिने छ । तेस्रो तलामा कार्यालय बनाइने समितिले जानकारी दिएको छ । चितवनको मेघौली, जुटपानी, सालबास र तनहुँमा पाइने कुमाल समुदाको मुख्य पेसा, माछा मार्ने, जाल बनाउने, माटोको भाडा बनाउने हो । कुमाल अगुवा तथा संयोजक खुसबहादुर कुमालले कुमाल समुदायको लुकेको संस्कृति जगेर्ना गर्नको लागि सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए । शैक्षिक हबको रुपमा विकास हुँदै गरेको चितवनमा यो सङ्ग्रहालय बनेमा इतिहास, समाज र संस्कृतिलाई बुझ्न तथा अध्ययन गर्न चाहने सबै लाभान्वित हुने विश्वास लिइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>