देश/प्रदेश

धरानमा नकुहिने फोहोर व्यवस्थापन हुन सकेन,सडकमा समेत प्रदूषण

Banner

धरान,भदौ १५-

धरान उपमहानगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन। उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहोर फाल्दै आएको छ। फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो। उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताए।

समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो। समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ। डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य वस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहोरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेखेका छन्। सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ। जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहोर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>