राजनीति

एमाले र राप्रपाविच चुनावी तालमेलको तयारी, २० सिटमा राप्रपाको दाबी

Banner

काठमाडौं,भदौ १५-

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर निर्वाचन लड्ने सहमतीको नजिक पुगेका छन्। केही दिनदेखि २ दलका नेताहरुले देशभर तालमेलका विषयमा छलफल गरिरहेका थिए।

राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार दुवै दल आगामी प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने लगभग सहमतिमा पुगेका छन्। सिट वाँडफाँटमा केही बाँकी रहेको र ‘आज भोलि’मा त्यो पनि टुंग्याउने तयारीमा रहेको पाठकले बताए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका दोस्रो तहका नेताहरुसँग राप्रपाले केही दिनदेखि वार्ता गरिरहेको थियो। अब दुई दलका अध्यक्ष र पदाधिकारीस्तरमा सहमति गर्ने तयारी भइरहेको पाठकले बताए।

राप्रपाले एमालेसँग २० सिटको दाबी गर्ने तयारी गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक्लै लडेको राप्रपाले करिब करिब तेस्रो राजनीतिक दलको मत पाएकाले सोही अनुसारको दावी गर्ने तयारी गरेको राप्रपाका एक नेताको भनाइ छ। राप्रपाको बलियो मत भएको क्षेत्रमा र आफ्ना ‘हेबिवेट’ उम्मेदबारहरुलाई लक्षित गरेर सिट दाबी गर्ने राप्रपाका ती नेताको भनाइ छ।

एमालेका नेताहरु पनि आफूहरुको संगठन केही कमजोर र राप्रपाको संगठन बलियो भएको क्षेत्रमा तालमेल गरेर जाने पक्षमा सहमत भएका छन्। ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा हाम्रो संगठन बलियो छ। संगठनको उपस्थितिअनुसार दुवै पार्टीलाई फाइदा हुनेगरी सिट बाँडफाँट गरेर तालमेलमा जाने लगभग सहमति भएको छ,’ राप्रपाका ती नेताको भनाइ छ।

राप्रपाले प्रदेश १ देखि कर्णाली प्रदेशमा गरी २० वटा निर्वाचन क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ सहित कर्णाली प्रदेशको जुम्लामा पनि राप्रपाले दाबी गरेको छ। राप्रपाले झापा ३, सिन्धुपाल्चोक २, मोरङ (कुनै एक) काठमाडौं २ , काठमाडौं ४, जुम्ला, नुवाकोट (कुनै एक), धादिङ (कुनै एक),चितवन ३, ,मकवानपुर (कुनै एक), बाँके २, कपिलवस्तु (कुनै एक) र रुपन्देही (कुनै एक) क्षेत्रमा दाबी गरेको छ। यस्तै, अन्य क्षेत्रमा पनि दाबी प्रस्तुत भएको र छलफलकै क्रममा रहेको राप्रपाका नेताको भनाइ छ। ‘प्रारम्भिक रुपमा हामीले २० सिटमा दाबी गरेका हौं। कुरा गर्दै जाँदा १५ सिटसम्ममा सहमति हुन्छ होला,’ राप्रपाका ती नेताको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>