देश/प्रदेश

तिजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ: राष्ट्रपति भण्डारी

Banner

काठमाडौँ, भदौ १५-

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तिज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

हरितालिका (तिज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तिज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तिजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तिज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताएकी छन्।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तिजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, सन्देशमा उल्लेख छ।

उनले हरितालिका ९तिज० को अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गरेकी छन्।

‘हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ। परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ,’ सन्देशमा भनिएको छ।

आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ।

तिजजस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>