चितवन विशेष
असन्तुष्ट नेतामाथि गरिएको कारबाही फिर्ता गर्न चितवन कांग्रेसलाई सुझाव

चितवन, भदौ १५–
स्थानीय तहको निर्वाचनका बेला असन्तुष्ट नेतामाथि गरिएको कारबाही फिर्ता गर्न चितवन कांग्रेसलाई विवाद समाधान समितिले सुझाएको छ । कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि गत साउन २६ गते तीन सदस्यिय विवाद समाधान समिति गठन गरिएको थियो ।
समितिले १९ दिनपछि जिल्ला कार्यसमितिलाई दुई बुँदे सुझाव दिएको हो । विवाद समाधान समितिमा कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे रहेका थिए ।
गत स्थानीय तहको निर्वाचनका बेला पार्टीबाट निलम्वन गरिएका नेताहरु भिम बहादुर श्रेष्ठ, शम्भु अर्याल, केशवराज पौडेल, आनन्दराज राउत र सूर्य बस्नेतको निलम्बन फुकुवाका लागि केन्द्रिय अनुशासन समिति र केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दै पत्रचार गर्न चितवन कांग्रेसलाई सुझाव दिइएको छ ।
त्यस्तै, भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेल, निजको समर्थक र प्रस्ताबक कृष्णलाल सापकोटा र मीना खरेल उपर गरिएको निष्कासनको कार्वाहीलाई अविलम्व फिर्ता लिन केन्द्रिय अनुशासन समिति र केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दै सिफारिस गर्न भनिएको छ ।
भुइँकटहर समूहका नाममा सक्रिय असन्तुष्ट नेताहरु र सरोकारवाला पक्षसंग पटक–पटक छलफल गरिएपछि जिल्ला कार्यसमितिलाई सुझाव दिइएको विवाद समाधान समितिका तीन नेताद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउन पनि आन्तरिक एकता सदृढ हुनुपर्नेमा नेताहरुको जोड छ ।


























