Breaking News
विकासका बाँकी काम पूरा गर्न फेरि एक पटक चितवनका जनताको प्रतिनिधि बन्न चाहन्छु: नेता पोखरेल

चितवन, भदौं १४-
प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले फेरि एकपटक सांसद बन्ने बताएका छन् ।
सांसद पोखरेलले नारायणी अनलाइनसँग कुराकानी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा विकासका बाँकी काम पूरा गर्न फेरि एकपटक सांसद बन्ने आकांक्षा व्यक्त गरेका हुन् । उनले पहिलो पटक दोस्रो संविधानसभामा सांसद बन्दा आफू संविधान लेख्ने काममा सक्रिय भएको, दोस्रो पटक कानुन बनाउने काममा सक्रिय भएको र अब एकपटक विकास र समृद्धिको सपना पूरा गर्न प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सांसद बन्न चाहेको बताएका छन् । उनले भने, ‘ मेरो निर्वाचन क्षेत्रमा विकासका थुप्रै काम बाँकी छन् । दाहखानी, चण्डीभन्ज्याङ, शक्तिखोर, भोर्ले दाहखानी सडकक निर्माणका कामहरु अझै कतिपय अधुरा छन् । भरतपुर महानगरपालिकाका ठूला आयोजनामा पनि केन्द्रको बजेट पार्ने देखि पहाडी क्षेत्रमा बत्ती बाल्नको लागि महत्वपूर्ण भूमिका खेलेको छु । एकपल्ट सांसदमा आउनुपर्छ भनेर मतदाताले भनिरहेका छन् ।’ उनले आफू सांसद भन्दा पनि जनताको सेवक भएको बताए । पोखरेलले आफ्नो क्षेत्रका चेपाङदेखि सबै जनजातिहरुलाई आफूले त्यत्तिकै सम्मान गर्ने विचार राखे ।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवारको रुपमा विसं २०७४ सालमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी रहेका नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । पोखरेलले आफ्ना प्रतिद्वन्दीलाई १७ हजार ४५६ मतको अन्तरले पराजित गरेका हुन् । सांसद पोखरेल प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । समितिमा उनले सरकारको कामको अनुगमन, मूल्यांकन र आवश्यक निर्देशन दिने कामलाई मुख्य प्राथमिकता दिएका छन् । त्यस्तै उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि चितवन–२ बाट निर्वाचित भएर संविधान निर्माणको मस्यौदा समितिमा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका उनले दोस्रो संविधानसभामा कांग्रेसका भीमबहादुर श्रेष्ठ र माओवादीका नारायण दाहाललाई पराजित गरेका थिए । निरन्तरको विजय यात्राले पोखरेललाई चितवनमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्छ ।
























