Breaking News
नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीद्वारा कांग्रेससँग छलफल र एमालेलाई पनि निमन्त्रणा

काठमाडौं, भदौं १३
राष्ट्रपति विद्यादेवी भण्डारीसित सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीले नागरिकता विधेयकका विषयमा छलफल गरेकी छन् । त्यस्तै, कांग्रेसँगको छलफल सकिए लगत्तै एमालेका नेताहरुलाई छलफलको लागि बोलाएकी छन् ।
आज कांग्रेस पदाधिकारीहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका थिए ।
आफूहरूले नागरिकता विधेयकका विषयमा कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए । ‘यो विधेयक केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको थियो र त्यही विधेयक प्रतिनिधिसभाले पारित गरेको हो भनेर प्रधानमन्त्रीज्यूले समेत भन्नुभयो’ छफलमा सहभागी कांग्रेस नेताले भने ।
ती नेताका अनुसार राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनका विषयमा चासो राखेकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीसित भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।
एमाले नेतालाई पनि आमन्त्रण
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार साँझ पाँच बजे एमाले शीर्ष नेताहरू शितल निवास पुग्दैछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन् । नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ ।
























