देश/प्रदेश

वातावरण विज्ञानमा स्नातक पढ्दै गरेकी गोमा व्यावसायिक कृषिमा

Banner

लमजुङ, भदौ १३

लमजुङको राइनास नगरपालिका–८, हर्राबोटकी २६ वर्षीया गोमा जिनी नेपाली आफ्नै कृषि फर्ममा काम गर्नमै व्यस्त छिन् । उनी त्रिचन्द्र कलेज काठमाडौँमा वातावरण विज्ञान विषय पढ्दैछिन् ।

पढे–लेखेपछि राम्रो जागिरको खोजीमा भौतारिने युवाको कमी छैन । सुखद भविष्यको कल्पना गर्दै विदेश भासिने युवा पनि उत्तिक्कै छन् । तर गोमा काठमाडौँमा पढेर गाउँमै फर्की बाँझा जमिन हरियाली बनाउन जुटेकी छन् ।

समाजमा उनलाई ‘पढे–लेखेको मान्छे राम्रो जागिर नखाएर के कृषिमा लागेकी रु’ भन्नेहरू पनि छन्,। तर उनी आफ्नै पौरखमा विश्वास गर्छिन् । र त गाउँकै माटोमा श्रम(पसिना बगाउँदैछिन् । यसमै उनको मन रमेको छ । ‘मलाई कृषि पेसा मन पर्छ । त्यसैले गाउँमै फर्की व्यावसायिक कृषिमा लागेको छु । यसबाट मलाई आत्मसन्तुष्टि पनि मिलेको छ,’ उनले भनिन् ।

उनले घर नजिकैको पाँच रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिई ‘न्यू एकीकृत कृषि फर्म’सञ्चालन गरेकी छन् । गोमाका बुवा जीतबहादुर नेपाली पनि कृषिमै काम गर्थे । कृषि व्यवसायलाई अघि बढाउन बुवाको पनि साथ–सहयोग मिलेको छ गोमालाई ।

२० वटा टनेल : गोलभेँडा, काँक्रो, करेला उत्पादन

गोमाको कृषि फर्ममा अहिले २० वटा प्लाष्टिक टनेल छन् । ११ वटा टनेलमा ‘सिर्जना’ जातको गोलभेँडा लगाइएको छ । दुईवटा टनेलमा ‘पाली’ जातको करेला लगाइएको छ । पाँचवटा टनेलमा ‘भक्तपुरे लोकल’ जातको काँक्रो, एउटा टनेलमा स्थानीय जातको घिरौँला लगाइएको छ । एउटा टनेललाई परालले छोपी राखिएको छ । यसलाई स्टोरको रूपमा प्रयोगमा ल्याइएको छ । ‘अहिले फर्मबाट गोलभेँडा, करेला, काँक्रो, घिरौँला उत्पादन भइरहेको छ,’ गोमाले भनिन् । उनका अनुसार कृषि उत्पादनले राम्रो बजार पाएको छ ।

उत्पादन गाउँघरका साथै पाउँदी, सिँडीबारमा खपत हुँदै आएको छ । ‘कतिपय तरकारी किन्नलाई फर्मसम्मै आउनुहुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्मलाई बजारको समस्या छैन ।’ उनले अहिले फर्ममा उत्पादित गोलभेँडा प्रतिकेजी ४५(५० रुपैयाँ, काँक्रो प्रतिकेजी ५०(६० रुपैयाँ, करेला प्रतिकेजी एक सय रुपैयाँका दरले बेच्दै आएकी छन् । फर्ममा सिँचाइका लागि डुम्रे खोलाको पानी ल्याइएको छ ।

‘फर्ममा रहेको जग्गामै पनि पानीको मूल छ । नजिकै खोलाबाट पनि पानी ल्याइएको छ । पानी समस्या छैन,’ गोमाले भनिन् । बिहान उठेदेखि साँझसम्म उनी फर्ममै व्यस्त हुन्छिन् । उत्पादित कृषि उपज गाडीमा राखेर बिक्रीका लागि उनी आफैँ बजारसम्म पुग्छिन् । फर्ममा तरकारी लगाउँदा, गोडमेल गर्दा केही स्थानीयले काम समेत पाउने गरेका छन् । ‘विशेषगरी फर्ममा हामी आफैँ खटिन्छौ । फर्ममा आशिंक रुपमा केही स्थानीयले समेत काम पाउने गरेका छन्,’ उनले भनिन् ।
बुवाकै प्रेरणाले कृषि कर्ममा लागेको उनले बताइन् । कृषि कर्मलाई अघि बढाउँदा गोमालाई बुवाका साथै आमा निरा र बहिनी मिनाको पनि साथ मिलेको छ । ‘बुवाबाट आवश्यक प्राविधिक सहयोग पाउँदै आएकी छु,’ उनले भनिन् । उनले हाल सञ्चालन गरेको फर्मको केही संरचना एक वर्षअघि नै निर्माण भइसकेको थियो । उनका अनुसार फर्म सञ्चालनमा ६ लाखभन्दा बढी लगानी भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>