Breaking News
प्रचण्ड जहाँबाट पनि उठ्न सक्छन्, चितवन क्षेत्र नम्बर ३ मा मेरो दाबी छ: नेता कोइराला

चितवन, भदौं १२-
माओवादी केन्द्रको निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर ३ तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि दाबी गरेका छन् ।
पार्टी प्रशिक्षणमा देशभर दौडाहामा रहेका कोइरालाले नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । कोइराला अहिले पार्टीको निर्णय बमोजिम म्याग्दी जिल्लाको जिम्मेवारी पाएका छन् । उनले प्रचण्ड ठूलो नेता भएकोले देशको जहाँबाट पनि लड्न सक्ने अवस्था रहेको बताए । उनले भने, ‘ यसतर्फ मेरो दाबी क्षेत्र नम्बर ३ मा संघतर्फबाट लड्ने हो । आशा छ पार्टीले यसपटक मलाई न्याय गर्नेछ । २०७४ सालमा पनि भरतपुर महानगरको मेयरमा प्रचारप्रसार सुरु गरेको अवस्थामा मेरो टिकट खोसियो । यसपटक मैले न्याय पाउनेछु ।’ उनी २०७४ सालमा प्रदेशसभा निर्वाचन लडेका कोइराला २०७९ मा आइपुग्दा प्रदेशमा लड्न तयार छैनन् । १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिमा पुगेका उनी कांग्रेसको
संस्थापनइतर समूहका प्रभावशाली नेता हुन् । नेता कोइराला विगत चुनावमा प्रदेशसभा निर्वाचन लडेका थिए । अहिले उनी चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा छन् । यसको लागि उनी भोलि काठमाडौँमा नेताहरु भेट्न जाँदै छन् । यही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसअघिको निर्वाचन जितेका हुन् । फेरि पनि प्रचण्डले यही क्षेत्रबाट लड्ने दाबी गरिरहँदा कोइराला पनि यस क्षेत्र छाड्ने पक्षमा छैनन् ।
विगतमा बाम गठबन्धनबाट निर्वाचित भएका दाहाल अहिले कांग्रेसँगै गठबन्धनमा छन् । त्यसैले कोइरालालाई यहाँ संघको टिकट लिन सहज छैन । तर, उनी यसलाई स्वीकार गर्न तयार छैनन् । उनले भने, ‘कांग्रेसले पटक–पटक यो निर्वाचन क्षेत्र छाड्यो । तर, अब छाड्दैन भन्ने मलाई विश्वास छ । म केन्द्रीय सदस्य पनि भएकाले यहाँ लड्नु स्वभाविक हो । एक व्यक्ति एकपटक भन्ने सिद्धान्तबमोजिम म प्रदेश लडिसकेँ । अब केन्द्र लड्छु’, कोइरालाले भने, ‘उहाँ चितवन भन्दा अघि अनेक निर्वाचन क्षेत्रबाटै जित्नुभएको हो । योपटक यहाँबाट नलड्न पनि सक्नुहुन्छ । उहाँको बारेमा मलाई थाहा भएन । म आफ्नो तयारी गरिरहेको छु ।’
२०७४ मा उनी प्रदेशमा लडे पनि सफल हुन सकेनन् । वाम गठबन्धनबाट उमेदवार बनेका एमाले नेता कृष्णप्रसाद भुर्तेलसँग उनी पराजित भएका थिए । भुर्तेलले २४ हजार ७८५ मत ल्याउँदा कोइरालाले २३ हजार ४५ मत ल्याएर पराजित भएका थिए ।
संविधान जारी भएपछि संघीय संचानाअनुरूप तीन तहका सरकारका लागि पहिलोपटक २०७४ सालमा निर्वाचन भएको थियो । स्थानीय तहप्रतिको आकर्षण भने एकदमै बढ्दो क्रममा छ । यसको उदाहरण गत वैशाख ३० मा भएको निर्वाचनमा प्रदेशका मन्त्रीदेखि संघीय सांसदसमेतले देखाएको आकांक्षालाई नै लिन सकिन्छ । तर, पहिलोपटक भएको प्रदेश संचनामा सुरुमा देखिएको आकर्षण कायम रहन सकेको छैन ।
























