राजनीति
झाँक्रीले बालेनलाई भनिन्–म तपाईसँगै छु

काठमाडौँ, भदौ ११–
नेकपा (एकिकृत समाजवादी)को नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफु काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगै रहेको बताएकी छन् । मन्त्री पदमा रहँदा आफुलाई धेरै दलीय दबाब आएको बताउँदै उनले बालेनलाई त्यस्तो दबाब नआउने र सँधै अघि बढ्न सुझाव दिइन् ।
फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।
‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् ।
‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन ।’ नेता झाँक्रीले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै लेखेकी छिन्, ‘म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस् ।’


























