Breaking News
चितवनमा प्रचण्ड भर्सेस बादल ! कति सम्भव कति असम्भव

चितवन, भदौं ६-
चितवनमा भएका विभिन्न सभामा एमाले उपाध्यक्ष रामबहादुर थापाले आगामी निर्वाचनमा प्रचण्डसँग चुनाव लड्ने आशय व्यक्त गर्दै आएका थिए । के प्रचण्डसँग बादलले चुनाव लड्छन् त ? भन्ने विषयमा निर्वाचन नजकिएसँग सबैको चासो छ ।
एमाले चितवनका इन्चार्ज देवी ज्ञवालीले उहाँले केही पनि आशय पार्टीमा व्यक्त नगरेको बताए । उनले भने, ‘निर्वाचनमा को लड्ने भन्ने विषय पार्टीले विधि र प्रक्रियाबाट टुङ्ग्याउने विषय हो । आज नै उत्ताउलो बन्नु हुँदैन । उहाँ बादल उत्ताउलो बन्न खोज्नु हुँदैन ।’
चितवनमा पाँचदलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ । निर्वाचन अगाडि एमालेले थापालाई चितवनबाट चुनावी मैदानमा उतार्नेबारे कुनै निर्णय वा तयारी गरेको छैन । स्वयं नेता बादलले पनि व्यक्तिगतरुपमा निर्वाचन लड्ने तयारी गरेका छैनन् । बादलको पारिवारिक स्रोतका अनुसार पनि बादलको श्रीमती अस्वस्थ रहेर उपचारकै क्रममा रहेकोले उनले निर्वाचन लड्ने मनस्थिति बनाएका छैनन् । केन्दीय स्तरका नेताहरुसँग राम्रै सम्पर्क र सञ्चारमा रहे पनि स्थानीय तहका नेता तथा कार्यकर्ताहरुसँग बादलको सञ्चार र सम्पर्क बलियो देखिँदैन । अहिलेको नयाँ पुस्ताले बादललाई कम नै चिन्छन् । उठिहाले पनि निर्वाचनमा राम्रो मत ल्याउन बादलले निकै राम्रो मेहनत गर्नुपर्ने हुन्छ ।
आगामी निर्वाचनमा एमालेको उम्मेदवार छनोटको आधारहरु एमाले केन्द्रीय कमिटीको आगामी बैठकले निर्धारण गर्दै छ । जिल्ला कमिटीले सिफारिस गरेका नामहरु प्रदेश कमिटी हुँदै केन्द्रबाट छनोट गर्ने प्रावधान बन्न पनि सक्छ ।
केहीअघि उपाध्यक्ष बादलले भरतपुर विमानस्थलमा पार्टीले निर्णय गरे माओवादी अध्यक्ष दाहालसँग चुनाव लड्न तयार रहेको बताएका थिए भने त्यसपछि गत फागुनमा एमाले कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन जाँदा विमानस्थलमा पत्रकारसँग थापाले चुनावमा उठ्ने नसोचे पनि पार्टीले दिए चितवन २ बाट लड्ने बताएका थिए । तर अहिले निर्वाचन नजिकिएसँगै उनी मौन बसेका छन् । सीमित पार्टीका कार्यक्रमबाहेक बाहेक उनी खासै चितवन आउजाउ गर्देनन् । तसर्थ आफ्नो निर्वाचन क्षेत्र छाडेर प्रचण्डको क्षेत्रमा उठ्न बादलको लागि त्यती सहज देखिँदैन । क्षेत्र नम्बर ३ मा एमाले तुलनात्मकरुपमा कमजोर रहेकोले पनि प्रचण्डसँग भिड्ने आशा निकै कम छ । अर्काेतर्फ भरतपुर महानगरपालिकामा आफ्नो छोरी रेनु दाहाल मेयर रहेकोले पनि प्रचण्डलाई निर्वाचनमा होमिन रेनुको बलियो साथ र सहयोग पाउनेछन् । स्थानीय समुदायमा रेनुको राम्रो जनसम्पर्क रहेकोले पनि बादलको तुलनामा प्रचण्डलाई धेरै सहज देखिन्छ ।
चितवनमा पूर्वमाओवादीको पंक्ति थापाको साथमा छैन । थापा गृहमन्त्री हुँदा सल्लाहकार रहेका सूर्य सुवेदीसमेत एमालेमा गएनन् । एमालेले उनलाई चितवनको क्षेत्र नम्बर ३ बाट भन्दा २ बाट उठाए २०७९ को स्थानीय निर्वाचनको अंकगणितले केही सहज छ । थापाको निर्वाचन क्षेत्र २ मा वडाध्यक्षको मतअनुसार कांग्रेस २४ हजार ५३२, माओवादी सात हजार ३७४, एकीकृत समाजवादी तीन हजार ५६९, जसपा ५८ र राट्रिय जनमोर्चाको ११ मत छ । एमालेको ३५ हजार ५ सय ४३ मत छ भने राप्रपाको २ हजार ११३ मत छ । स्थानीय निर्वाचनमा जस्तै ओली चितवनमा राप्रपासँग तालमेलको कोसिसमा छन् । पाँचदलीय गठबन्धनको मत ३५ हजार ५४४ छ । राप्रपासँग तालमेल भयो भने एमालेको ३७ हजार ६५६ मत हुन्छ । यो मतअनुसार एमाले–राप्रपा गठबन्धन दुई हजार ११२ मतले अघि हुन्छ । एमालेको स्रोतले जनाएअनुसार क्षेत्र नम्बर २ मा चुनाव लड्न नेता देवी ज्ञवाली र कृष्णभक्त पोखरेलले पनि आकांक्षा राखेका छन् ।
पछिल्ला दिन मौनजस्तै रहेका एमाले उपाध्यक्ष थापा सार्वजनिक कार्यक्रममा नदेखिएको धेरै भयो । निर्वाचन रणनीतिमाथि छलफल गर्न एमालेले भदौ ७ मा पार्टीको स्थायी कमिटी, भदौ ९ मा पोलिटब्युरो र भदौ १०–११ मा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसपछि थापा निर्वाचन लड्ने–नलड्ने करिब तय हुनेछ । थापालाई अगाडि नसारे सुरुमै चुनाव हारेको सन्देश जाने भएकाले एमालेभित्र उनलाई क्षेत्र २ वा ३ बाट चुनाव लडाउनुपर्ने सुझाव पनि केही नेताले दिएका छन् ।
२०७८ फागुन ११ मा सर्वोच्च अदालतले नेकपा भंगको फैसला गरेपछि थापाले एमाले रोजेका थिए । २०७४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनबाट चितवन क्षेत्र २ मा एमालेका कृष्णभक्त पोखरेलले ४४ हजार ६७० मत ल्याएर कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गरेका थिए । अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । २०७४ सालमा पनि बादलले चितवनबाट प्रत्यक्ष निर्वाचन लड्ने हल्ला चलेको थियो तर पछि उनले प्रत्यक्षमा लड्ने अडान त्यागे । थापा २०६४ को संविधानसभा निर्वाचन चितवन ३ बाट लडेका थिए । जितेर २०६५ मा बनेको दाहाल नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री बने । उनी रक्षामन्त्री रहेकै बेला २०६६ मा ‘कटवाल प्रकरण’ भयो र यही कारणले दाहाल नेतृत्वको सरकार ढल्यो । त्यो घटनामा थापाको अपरिपक्वताको चर्चा माओवादी वृतमा अझै हुने गरेको छ । दाहालले पनि कटवालमाथि कारबाही गर्न थापाले उक्साएको सुनाउने गरेका छन् ।
२०६९ मा माओवादी विभाजन हुँदा थापा मोहन वैद्यतिर लागे र महासचिव बने । तर, वैद्यसँग सहकार्य लामो भएन । २०७२ मा उनी केही नेता लिएर फेरि दाहाल नेतृत्वकै माओवादीमा फर्किए । त्यसबेला एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी (बादल समूह), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी (विद्रोही), नयाँ शक्तिका विद्रोही, नेकपाको एक समूह, नेकपा गौरवशाली पार्टी, वाम एकता मञ्च, जयपुरी घर्तीको स्वतन्त्र समूहको बीचमा पार्टी एकता भई २०७३ जेठ ६ मा माओवादी केन्द्र बनेको थियो । २०७४ को निर्वाचनमा माओवादी र एमालेबीच गठबन्धन बन्यो । चितवनमा दाहाल वाम गठबन्धनका उम्मेदवार हुने निर्णय भयो । थापा राष्ट्रिय सभामा जान तयार भए । २०७४ को संघीय निर्वाचनपछि उनी राष्ट्रिय सभा सदस्य भए । र, ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने । माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भयो । त्यही एकताको विरासतमा थापा पार्टी सचिवालय र सरकारमा प्रभावकारी भूमिकामा बसे । नेकपामा ठूलो अन्तरसंघर्ष हुँदा उनले ओलीलाई साथ दिइरहे ।
गत वर्ष चितवनमा भएको दसौं महाधिवेशनपछि एमालेको उपाध्यक्ष छन् । २०१२ वैशाख १९ मा गुल्मीमा जन्मेका थापाले रामपुर कृषि क्याम्पसमा पढेका हुन् । उनको परिवार चितवन बसाइँ आएको हो । २०३१ मा रामपुर कृषि क्याम्पसमै दाहालसँग भेट भएपछि सहकार्य सुरु भएको थियो । माक्र्सवादी अध्ययन समूह बनाएर उनीहरू आन्दोलनमा लागेका थिए । थापालाई अमिक शेरचनले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । दाहाल र थापाबीच सहकार्य र संघर्षको लामो इतिहास छ । दुवै एकपटक निर्वाचनमा आमनेसामने भए पनि पक्कै पनि चितवनको निर्वाचन झनै रोचक मोडमा पुग्नेछ । तर, त्यस्तो हुने संकेत अहिलेसम्म देखिएको छैन ।
























