देश/प्रदेश

पाटनमा भीमसेन जात्राको तयारी सुरु

Banner

ललितपुर, भदौ २ –

पाटन दरबार परिसरमा आउँदो शनिबार मनाइने भीमसेन खटजात्राको तयारी सुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । आज दिनभरिमा पित्तलको खट बनाएर शनिबार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक समितिका संयोजक किरणमान प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा अझै कायम रहेको कोभिड महामारीका कारण विगत दुई वर्ष अघिदेखि हामीले यो जात्रा भव्यताका साथ मनाउन पाएका थिएनौँ, यस पटक भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छौँ ।”

सो जात्रा नेवार समुदायका व्यापारीका लागि सबैभन्दा ठूलो पर्व रहेको प्रधानले जानकारी गराउनुभयो । सो जात्राका दिन उक्त खटमा बिराजमान भएका भीमसेन मूर्तिलाई पाटनको मङ्गलबजार हुँदै हखा त्यसपछि सौगल पछि सुन्धारादेखि ओकुबहाल, थपाहिटि, बालकुमारी, चक्रबहिल, हौगोल, टिँछु गल्ली, इखालखु, बालखा, पूर्णचण्डी, गाबहाल, बलीम्ह, पिम्बहाल, सुलिम, बालिफल, नकबहिल, क्वालखु, झटापोल, कुम्भेश्वर हुँदै कोबाहाल भएर स्वठः एवं पुनः मङ्गलबजार भीमसेन मन्दिर परिसरमा उक्त खट ल्याएर राखिने गरिएको समितिका सहसंयोजक वीरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस दिन राति ७:३० बजेपछि मात्र जात्रा सुरु गरी नगर परिक्रमा गर्दै जाने भएकाले राति १२ देखि १ बजे मात्र खटजात्रा सकिन्छ ।” सो दिन जात्राको खट बोक्न सबैजसो व्यापारी पाटन आउने श्रेष्ठले जानकारी गराउनुभयो । सो खटलाई जात्राको दिन बिहान मात्र भीमसेन मन्दिर अगाडि लगेर राखिने समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताउनुभयो ।

उक्त दिन सो काम सम्पन्न भएसँगै सर्वसाधारणलाई जात्रा सुरु नगरुनजेलसम्म मूर्तिको पूजा तथा आरधना गर्न दिइने अमात्यले जानकारी गराउनुभयो । जात्रामा काठमाडौँ उपत्यकाका साथै भक्तपुर, धुलिखेल एवं बनेपाबाट राति भक्तजन सहभागी हुने गरेका स्थानीय सिद्धिराम श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भीमसेनको आरधना गर्दा श्रीवृद्धि हुने मान्यता व्यापारीमा रहँदा जात्रामा सहभागी हरेक मानिसले बालेको धूप हातमा बोकेर हिँड्ने तथा लड्डु र पेडा चढाउने काम गरिन्छ ।” तीन तले प्यागोडा शैलीमा निर्मित भएको उक्त मन्दिर विसं २०७२ वैशाख १२ को गोर्खा भूकम्पले जीर्ण भएपछि लगभग रु चार करोड ९३ लाखमा पुनःनिर्माण गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>