राजनीति
हाम्रो पार्टी धेरै नै बिग्रिएको छ : प्रचण्ड

काठमाडौँ, भदौ २–
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताएका हुन् ।
पार्टी पहिलाको जस्तो नरहेको उल्लेख गर्दै व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासोसमेत गरे ।
‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै सुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ,’ उनले भने ।


























