राजनीति
अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

काठमाडौं, साउन ३१ –
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्न रौतहट फर्किने भएको छ । नेपाल रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका हुन् ।
रौतहट र काठमाडौंबाट लामो समय चुनाव लड्दै आएका नेपालले निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।
तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले ‘हामीले उहाँलाई रौतहट १ मा आउन अनुरोध गरेका छौं । उहाँले पनि आउनसक्छु भन्नुभएको छ ।’
अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । भन्छन्, ‘एक्लै प्रतिस्पर्धा भयो भने पनि उहाँले जित्नुहुन्छ । गठबन्धन भयो भने अझ सहज हुन्छ ।’
स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ ।


























