Breaking News

बेलायतबाट पीएचडी गरेका कृषि विज्ञ पौडेलले गरे चितवनबाट चुनाव लड्ने घोषणा

Banner

चितवन, साउन २८-

कृषि विज्ञ कृष्णप्रसाद पौडेल आगामी निर्वाचनमा चितवनको दुई नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएका छन् ।

खाना र खेतीपातीलाई विषादीरहित बनाउने अभियानमा लागेका पौडेलले आज भरतपुरमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा पौडेलले आफू आबद्ध पार्टीमा दाबी पेस गरिसकेको जानकारी दिए । उनी एमालेमा राजनीति गरेका व्यक्ति हुन् । तर, पछिल्लो समय राजनीतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् । ’यो मुद्दा अब राजनीतिक प्रणालीभित्र आउनु पर्छ । किनकी विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातकरूपमा बिग्रेको छ । यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनीतिकरूपमा हस्तक्षेप चाहिएको छ,’ पत्रकार सम्मेलनमा पौडेलले भने । सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर, त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनको भनाइ । पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएको व्यक्तिले उठाएको जायज र नौलो मुद्दालाई नेतृत्वले नजरअन्दाज गर्दैन भन्ने विश्वास आफूलाई लागेको पौडेलले बताए ।

भरतपुरको क्षेत्रपुर घर भएका ६० वर्षका पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक र बेलायतको रिडिङ विश्विवद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनी विद्यार्थी जीवन २०३६ सालदेखि नै एमाले तथा तत्कालीन माले निकट भएर राजनीतिमा लागेका व्यक्ति हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>