Breaking News
तरुण दल चितवनका नेता परियार हत्या अभियोगमा दुई जना पुर्पक्षको लागि थुनामा

प्रतिमा कुमाल
चितवन, साउन २५-
चितवन जिल्ला अदालतले तरुण दल चितवनका नेता अनिल परियार (कान) को हत्या अभियोगमा दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ ।
आज (बुधबार) ‘विश्व’ भनिने भरतपुर– १५ का हेमन्त वास्तोला र राहुल परियार भनिने भरतपुर–१२ का सुनिल राउतलाई पुर्पक्षमा पठाएको हो । विक्रम भनिने भरतपुर–१५ का रोहितप्रसाद सिलवाल भने २० हजार धरौटीमा छुटका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीका अनुसार अनुसन्धानको क्रममा आन्तरिक रिसिबी देखिएको जानकारी दिए ।
घटना भएको एक महिनापछि जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका हुन् । मृतकको दाइ सागर परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । साथै तीन जना अझै फरार रहेको डीएसपी अधिकारीले जानकारी दिए ।
अदालतमा भएको बहसमा फरार आरोपितहरु अजय सिंह भनिने भरतपुर–२६ का अशोक भण्डारी, भरतपुर–१५ का तिलक गैरे र भरतपुर–१९ का सुशान्त उप्रेतीलाई जन्मकैदको आधा सजाय हुने माग गरिएको थियो । वैशाख १ गते साँझ अन्दाजी ७ः ३० बजेको समयमा भरतपुर–७ कृष्णपुरमा परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । २८ वर्षीय उनी भरतपुर १२ का स्थानीय हुन् ।
























