देश/प्रदेश

आदिवासी राज्यको मूल प्रवाहमा ल्याउनुपर्छः महामन्त्री थापा

Banner

काठमाडौँ, साउन २३–

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उहाँले नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको अधिकार र पहिचानका लागि विशेष महत्व दिनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री थापाले नेपालको जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरुप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिन’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

नेपालको आदिवासी आन्दोलनमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनका दौरानमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको बताउनुभयो ।

नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारीस्वरुप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रक्षिण दिइने तथा भदौ २ गते देखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन र हकहितका विषयमा सबै आदिवासी समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा बढीभन्दा बढी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि सबै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जातीय विविधता र संस्कृति नेपालको पुँजी हो भन्दै समानता र समावेशीकरणको सिद्धान्तअनुरुप आदिवासीको हित प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताउनुभयो । प्रवक्ता महतले कांग्रेस हरेक नागरिकको अधिकार र लोकतान्त्रिक मूल्यमान्यतासहितको कानुनी शासनप्रति विश्वास राख्ने पार्टी रहेको भन्दै नेपालको पहिचानका रुपमा रहेका आदिवासी जनजातिको अधिकारका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले नेपाल सबै जातजाति र समुदायको साझा फूलबारी भएको भन्दै राज्यबाट प्राप्त हुने सबैखाले अवसर र सेवामा समानुपातिक सहभागिताको सुनुश्चितता हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस नेता दिलमान पाख्रिनले कांग्रेसले आदिवासी जनजातिलाई समेटेर पहिचान भेटिने र द्वन्द्व मेटिनेगरी अधिकार र पहिचानको मुद्दालाई प्रभावकारीरुपमा अघि बढाएको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामाले आदिवासी जनजातिको अधिकार र पहिचानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । अर्का केन्द्रीय सदस्य सीता गुरुङले आदिवासी जनजातिको हितमा वर्तमान सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै अघिल्लो सरकारले कटौती गरेका आदिवासी दिवसको बिदा अहिलेको सरकारले क्यालेन्डरमै समावेश गरेर आदिवासीप्रति सम्मान प्रकट गरेको बताउनुभयो ।

कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, नेता अमरसिंह पुन, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङशेर्पा लगायतले आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न जातीय पहिचान झल्किने झाँकी प्रस्तुत गरिनुका साथै आदिवासी समुदायको गीतसङ्गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा शेर्पा समुदायको तर्फबाट कांग्रेस महामन्त्री थापा र सहमहामन्त्री आङ्देम्बेलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>