Breaking News
साउनको चौँथो सोमबार आज देवघाटमा भक्तजनको भीड, ७० हजारले गरे दर्शन (फोटो फिचर)

पूजा ढकाल
चितवन, साउन २३-
साउनको आज चौँथो सोमबार देवघाटमा भक्तजनको अत्यधिक भीड लागेको छ ।
गएको तीन वटा सोमबारको तृुलनामा आज चौँथो सोमबार प्रसिद्ध धार्मिकस्थल देवघाटमा भक्तजनको भीड बढेको हो ।
यस्तै आज सोमबार मात्रै नभएर पुत्रदा एकादशी पनि परेकोे छ । उक्त क्षेत्रमा आज बिहानैदेखि स्नान गर्ने, बोलबम यात्रा गर्ने तथा वर्तालु महिला, पुरुष तथा बालबालिकाको भीड लागेको थियो ।
उनीहरु भगवान शिवको वर्त बस्दा राम्रो श्रीमान् पाइने तथा श्रीमान्को आयु बढ्ने विश्वासले पानी समेत नखाइ पुल तर्न लाइनमा बसेका थिए । देवघाटधाम चितवन, तनहुँ र नवलपुरको संगम स्थलमा पर्ने गर्छ । त्यस्तै यस वर्ष साउनमा पाँचवटा सोमबार भएकाले उल्लेख्य मात्रामा भक्तजन भीड लाग्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले गरेको छ ।
समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार आज ६०–७० हजार भक्तजनको उपस्थिति रहेको थियो भने गएको सोमबार पहिलो सोमबारको तुलनामा बढेर ३५ हजारको हाराहारीमा पुगेको थियो । तर, आजको सोमबार भने अत्याधिक भीड भएको कारण आँपटारीको बाटो बन्द गरेर रामनगरबाट भक्तजनको लागि सवारीसाधनको व्यवस्था गरिएको थियो र चितवन तथा दासढुंगाबाट बढी भक्तजन आएको उनको भनाइ छ । आज अत्यधिक भीड भएको कारण पुलमा समेत पारी जान र फर्कनेको छुट्टाछुट्टै लाइन बनाइएको थियो ।
त्यस्तै अब साउनको अन्तिम सोमबार झनै भक्तजनको भीड लाग्ने र एक लाख भन्दा धेरै भक्तजन आउने अनुमान गरिएकोले सोही अनुसार सुरक्षाको तयारी गरिएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । ‘त्यती मात्रै नभएर दुर्घटना हुन सक्ने भन्दा सचेत रहन माइक मार्फत् जानकारी गराएको छौँ र हामीले सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको एउटा उद्धार टोली समेत बनाएका छौँ’, अधिकारीले भने ।
देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेलामा लाखौं भक्तजन देवघाट आउने भएकोले भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको र स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धार टोलीको पनि व्यवस्था छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको संगम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुसी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै मन्दिर स्थलमा वर्तालु तथा भक्तजनको लागि जेसिस नेपालले निःशुल्क पानी वितरण तथा स्वास्थ्य शिविरको व्यवस्थासमेत गरेको थियो ।































