Breaking News
चितवनकी प्रियम्वदा बनिन् बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर

चितवन, साउन २३-
भरतपुर महानगरपालिका वडा नम्बर १० की प्रियम्वदा पौड्याल बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर बनेकी छन् ।
बेलायतमा पब्लिक हेल्थ विषयमा प्राध्यापन गर्दै आएकी डा. प्रियंवदा पौड्याल नेपाली मूलको पहिलो महिला प्रोफेसर बन्न सफल भएकी हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १० को विक्रम मार्ग नजिकै जन्मिएर स्मल हेभन स्कुलबाट प्रारम्भिक शिक्षा एसएलसी पूरा गरेकी उनी उच्च शिक्षाको लागि १७ वर्ष अघि बेलायत गएकी थिइन् । कम्युनिस्ट नेता घनश्याम पौडेलकी छोरी उनले स्कटल्याण्डको एबरडिन युनिभर्सिटीबाट पब्लिक हेल्थमा मास्टर्स डिग्री पूरा गरी सोही युनिभर्सिटीबाट सन् २०११ मा विद्यावारिधि पूरा गरेकी हुन् ।
उनलाई स्मल हेभन स्कुलमा गणित विषय पढाउने सप्तगण्डकी बहुमुखी क्याम्पसका सेवानिवृत्त प्राध्यापक नन्दलाल पौडेलले उनी सानो उमेरदेखिनै निकै तिष्ण बौद्धिक क्षमताको विद्यार्थी रहेको बताए । उनले भने, ‘ कक्षा ८, ९ र १० मा गणित विषय पढाएकोले पनि उनको सफलताप्रति धेरै खुसी छु ।’ उनी बेलायतको वेष्ट मिडल्याण्डमा पर्ने किइल युनिभर्सिटीमा हालै पब्लिक हेल्थका प्रोफेसरका रुपमा नियुक्त भएकी हुन् । उनले सो युनिभर्सिटीमा ग्लोबल हेल्थ इष्टिच्युटको डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । बेलायतका युनिभर्सिटीहरुमा प्रोफेसर तहमा पुगेर शिक्षा क्षेत्रमा योगदान गर्ने नेपालीहरुको संख्या निकै कम छ । त्यसमा पनि डा. पौड्याल छोटो समयमै पहिलो महिला प्रोफेसर भएपछि अहिले उनको चर्चा भइरहेको छ । प्रोफेसरमा नियुक्त भएपछि खुसी व्यक्त गर्दै उनले भनेकी छन्, ‘ नेपालको जनस्वास्थ्य क्षेत्रमा आफूले पुर्याउन सक्ने योगदानका लागि सधैँ लागिपर्ने छु । म विगतमा पनि नेपालका विभिन्न विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गरी नेपालको जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेकी छु र भविष्यमा पनि यसमा लागिरहने छु । ’
पौड्यालले आफू खल्तीमा पाँच सय पाउण्ड लिएर बेलायत पसेकी बताउँदै दृढ इच्छा शक्ति र मेहनतका साथै परिवार, साथीभाइ र गुरुजनहरुको निरन्तर सहयोगले यो स्थानसम्म आइपुगेकी बताइन् । उनले नेपालको जनस्वास्थ्यसँग सम्बन्धी अनुसन्धानहरु गर्नुका साथै लेखहरु लेख्दै आएकी छन् । खाडी मुलुकमा कार्यरत नेपाली आप्रावासीहरुको स्वास्थ्य अनुसन्धानमा कथावस्तुको प्रयोग गरी जनचेतना जगाउने उनको नौलो अनुसन्धानको निकै चर्चा पनि भएको थियो ।

























