गण्डकी

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बाँस्तोलालाई

Banner

गण्डकी, साउन २२–

नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बाँस्तोलालाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिसबमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बाँस्तोलालाई प्रदान गर्न लागिएको हो ।

गङ्गाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहनुभएको थियो ।

युनियनले रु १२ लाखको अक्षयकोष स्थापना गरेर विसं २०७२ देखि हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार युनियनको सदस्य रहेको र १५ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनेलाई प्रदान गर्ने गरिन्छ । पुरस्कार राशि जनही रु ३३ हजार तीन सय ३३ र सम्मानपत्र रहेको छ । कोरोना महामारीका कारण रोकिएको विसं २०७७ सहित यसपालि संयुक्तरूपमा वितरण गरिन लागेको नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो ।

प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ गोरखापत्र राष्ट्रिय दैनिक गण्डकी प्रदेश ब्यूरो प्रमुख एवं नेपाल टेलिभिजनका पोखरा समाचारदाता भई पत्रकारितामा क्रियाशील रहनुभएको छ । त्यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बाँस्तोला पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ हाल हिमदूत दैनिकका सम्पादक एवं रेडियो तरङ्गका अध्यक्ष रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>