Breaking News

चितवन कांग्रेस विवाद उत्कर्षमाः सभापति खनाल एकलौटीरुपमा चलेको श्रेष्ठको आरोप

Banner

मधुसूदन दवाडी

चितवन, साउन १८-

चितवन कांग्रेस अधिवेशनको समयमा मिलेका चितवन कांग्रेसका नेताहरुबीचमा फेरि तिक्तता बढेको छ । पार्टी सभापतिको प्रत्याशी नेताहरुले सभापति राजेश्वर खनाल एकलौटीरुपमा चलेको भन्दै उनको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।

सभापति राजेश्वर खनाल एकलौटीरुपमा चलेको भन्दै प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठले अधिवेशनमा भएको सहमति तोड्ने चेतावनी दिएका हुन् ।

मन्त्री श्रेष्ठले साउन १६ गते एक विज्ञप्ति जारी गर्दै १४ औं जिल्ला अधिवेशनमा भएको सहमति अनुरुप सर्वसम्मत सभापति चयनमा सहयोग पुर्‍याएको स्मरण गराउँदै अहिले सभापति खनाल एकलौटी ढंगले अगाडि बढेको आरोप लगाएका छन् । उनले विज्ञप्तिमा खनालले विधि, विद्यान र निर्देशन विपरित कामहरु गर्नुका साथै मातहतका निकायबीचमा समन्वयकारी भूमिका निर्वाह नगरी विद्यानविपरित मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आक्रोश पोखेका छन् । उनले जिल्ला पार्टी गम्भीर संकटमा फस्दै गएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सामूहिक नेतृत्व प्रणालीको अभ्यास मार्फत् विगतमा गरेका सहमतिहरु अक्षरस पालन गर्न सभापति खनालको विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छः ‘अन्यथा विगतमा यहाँलाई दिएको समर्थन फिर्ता लिई पार्टीको सबै तहमा आफ्नो दृष्टिकोणसहित प्रस्तुत हुनेछु । यसबाट जिल्लाको पार्टी संगठनमा पर्न जाने सबै गतिरोधको जिम्मेवार स्वयम् सभापतिसमेत रहने समेत जानकारी गराउँछु ।’

त्यसैगरी गत वैशाख १४ गते पनि कांग्रेस चितवनका दुई नेता महाधिवेशनमा सभापतिको प्रत्यासी उत्तम जोशी र प्राध्यापक डा सूर्यकान्त घिमिरेले सोही प्रकृतिको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सभापति खनालले स्थानीय निर्वाचनमा पार्टीको नीति, आदर्श, मर्यादा र आचरण विपरित विद्यानविरुद्ध अपारदर्शी ढंगबाट टिकट वितरण गरेको आरोप लगाएका थिए । उनीहरुले राम्रालाई भन्दा हाम्रालाई आर्थिक चलखेलको भरमा टिकट वितरण गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका थिए । उनीहरुले पार्टीभित्र भएका गलत क्रियाकलापहरुको छानबिन गर्न मागसमेत गरेका थिए । सामाजिक सञ्जालमा कतिपय चितवनका कांग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला अधिवेशनमा सभापतिका प्रत्याशीहरुबीच भएको सहमति पारदर्शी नभएको भन्दै टिप्पणी गरेका छन् । चितवन कांग्रेसको चुनावको हिसाबकिताब वा लेनदेन नमिलेपछि अहिले विज्ञप्ति आएको उनीहरुको आरोप छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>