राजनीति

अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक

Banner

काठमाडौं,साउन १८-

जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो ।

अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए । अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएपछि सरकारले नयाँ अर्थ सचिवको खोजी गरेको हो ।

नयाँ अर्थ सचिव खोजिदै

अर्थमन्त्री शर्मामाथि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति नै बनाएर छानबिन प्रतिवेदन तयार गर्दा अर्थ मन्त्रालयको सीसीटिभी फुटेमा बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राति अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले बहुमतबाट सफाइ पाएका थिए तर सो समितिमा रहेका एमालेका सांसदले भने असहमति जनाउँदै फरक मत राखेका थिए । शर्मा पुनः अर्थमन्त्री भएर मन्त्रालय आएपछि अर्थसचिव मधुकुमार मरासिनी अर्थ मन्त्रालयमा नआएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक देखिएपछि नयाँ सचिवको खोजी थालिएको हो । अर्थसचिवमा आउने व्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवा र उनीनिकटका उच्च राजनीतिक नेतृत्वले रुचाएको व्यक्ति हुने स्रोतको दाबी छ ।

अब नयाँ अर्थ सचिवका रूपमा डा. वैकुण्ठ अर्याल, केवल भण्डारी र हाल अर्थ मन्त्रालयमै रहेका राजस्व सचिव कृष्णहरि पुष्कर तथा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको नाम चर्चामा छ । तर, अहिलेको अवस्थामा अर्थमन्त्री शर्माले भने आफ्नो पहिलो रोजाइमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई राखेको शर्मा निकट स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>