Breaking News

भरतपुर अस्पतालको आकस्मिक कक्षमा चरम लापरवाही, चार दिनदेखि ड्युटीमा आएनन् पारामेडिक्स

Banner

प्रतिमा कुमाल

चितवन, साउन ४ –

भरतपुर अस्पताल केन्द्रीयस्तरको अस्पताल हो । यहाँ आउने जोकोही बिरामीले पनि सहजरुपमा उपचार सेवा पाउने अनुमान धेरैको हुनसक्छ तर यो अस्पतालको आकस्मिक कक्षमा नै बिरामीले सहजरुपमा उपचार पाउँदैनन् । कहिले कर्मचारी त कहिले चिकित्सकका कारण देशकै ठूलो मध्येको एक भरतपुर अस्पतालमा आउने बिरामीले सास्ती बेहोर्नुपर्ने गरेको छ । आकस्मिक कक्षका पारामेडिक्स (प्राथमिक उपचार गर्ने व्यक्ति) प्रदिप अधिकारी चार दिनदेखि डिउटीमा आएका छैनन् ।

साउन १ गते देखि कक्षको इन्चार्जबाट पदमुक्त भएपछि उनी आफ्नो कार्यतालिकामा समेत आउन छाडेका हुन् । बिहान ७ बजे देखि दिउँसो १ बजेसम्म उनको डियुटी तालिका रहेको छ । यो तालिकामा उनीसँगै अहेब केशवकुमार श्रेष्ठ र नर्स स्वस्तिका खड्का रहेका छन् । अहेब अधिकारी नआउदा बिरामीले सास्ती खेपिरहेका छन् । आफ्नै घरमा बिहान लडेर हात भाँचिएकी बिरामी गीता न्युरे चार घण्टादेखि पारामेडिक्सको पर्खाइमा थिइन् । कक्षको कुनामा दुखाइ सहन नककी आशु बगाइरहेकी उनले आफ्नो पीडा शब्दमा पोख्न सकेकी थिइनन् । उनको छोरी बन्दना न्यूरेले उनलाई सम्हाली रहेकी थिइन् ।
कालिका नगरपालिका वडा नं. ३ पदमपुरकी बन्दनाले अस्पतालमा पारामेडिक्स नहुनु भनेको व्यवस्थापनको ठूलो लापरवाही रहेको बताइन् । उनले भनिन्, ‘ कुरेको चार घण्टा हुदासम्म प्राथमिक उपचार गर्ने पारामेडिक्स आएका छैनन् । आकस्मिक कक्षमा आउदा पनि टिकट काट्दाको जस्तै समस्या छ । एक्लै छु, आमालाई स्यहार्नेकी टिकट र औषधि किन्न दौडनु ।’

कुटपिटबाट रगताम्य भएका सबिन श्रेष्ठ पनि उपचारको प्रतिक्षामा थिए । अध्ययन गर्न आएका मेडिकल विधार्थीले ओहोरदोहर गरेर हेर्ने गरिरहेका थिए । उनको टाउकोमा चोट लागेको थियो । जोखिम अवस्थामा अस्पताल आउदा पनि उनले प्राथमिक सेवा पाएका थिएनन् । केन्द्रीय बस टर्मिनलस्थित धौलागिरी होटलमा विवादको क्रममा आक्रमण हुँदा उनी गम्भीर धाइते भएका थिए ।

अस्पतालको आकस्मिक कक्षका इन्चार्ज अलाउदिन मियाले भने अधिकारीको बचाउ गरेका छन् । अस्पतालको अन्य विभागमा उनको काम भएकाले बिहान आकास्मिक कक्षमा नआएको नारायणी अनलाइनलाइ बताए । तर, मियालेनै राखेको कार्यतालिकामा भने पारामेडिक्सको आकस्मिक कक्षमा नै ड्युटी देखिन्छ । अधिकारी अकस्मिक कक्षमा नआएको मेसु डा. कृष्णप्रसाद पौडेललाई समेत जानकारी छ । तर, उनले अहिलेसम्म कुनै कारबाही गरेका छैनन् ।

पूर्वइन्चार्ज अधिकारी आफ्नो समय तालिका अनुसार आकस्मिक कक्षमा नआउँदा बिरामीले सहजरुपमा समयमा उपचार पाउन सकेका छैनन् । अधिकारीको भरतपुरको सहिदचोकमा आफ्नै औषधि पसलसमेत रहेको छ । अस्पताल आउने समयमा उनी आफ्नै फर्मामा व्यस्त हुने गरेको बिरामीको अरोप छ । अस्पतालको आकस्मिक कक्षमा जनशक्ति कम भएका कारण समस्या भएको अस्पतालले बताउँदै आएको छ । रातको समयमा पर्याप्त चिकित्सक र नर्स आकस्मिक कक्षमा नहुदा बिरामीले समस्या भोग्दै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>