Breaking News

सवा करोड नहुँदा सञ्चालन भएनन् नारायणगढ-मुग्लिन सडकका आठ पुल

Banner

भरतपुर, असार ३१-

नारायणगढ–मुग्लिन सडकमा सवा अर्बभन्दा बढी रुपियाँको लागतमा निर्माण भइरहेका १५ वटा पुलमध्ये आठवटा बनिसकेका छन् । ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ तर सवा करोडभन्दा थोरै बढी बजेट नपाउँदा सडक विभागलाई पुल हस्तान्तरण गरेर सञ्चालन गर्न सकिएको छैन । १५ वटै पुलको कुल लागत भने एक अर्ब २७ करोड पाँच लाख रुपियाँ छ । सञ्चालन गर्न आवश्यक भने एक करोड १८ लाख रुपियाँ मात्र हो ।

निर्माण सम्पन्न भएका पुलमा खहरे खोला पुल, खोर पुल, लामो बालुवा पुल, भोर्ले पुल, सिमल ताल पुल, सेती दोभान पुल, डुम्रे खोला पुल र टोपे खोला पुल छन् । बनिसकेका यी पुलका लागि आवश्यक रकम पनि ठूलो संरचना निर्माणका लागि होइन । पुल र सडकसँगै रहेका घरटहराको क्षतिपूर्ति दिनका लागि आवश्यक हो । पटक–पटक माग गर्दा पनि निकासा हुन नसकेका पुल सञ्चालनमा ल्याउन नपाउँदा सडक सञ्चालनमै समस्या भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

विश्व बैङ्कको ऋण सहयोगमा १५ वटा पुल निर्माण भइरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार तीमध्ये आठवटा पूरा भएका छन् । निर्माण पूरा भएका पुलनजिकै सडकमा जोडिएका घरटहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन । उक्त क्षतिपूर्ति नेपाल सरकारले दिनुपर्नेमा सरकारबाट बजेट निकासा भएको छैन ।

सडक विभाग पुल महाशाखाका इन्जिनियर विमल बस्नेत घरटहराका लागि आवश्यक क्षतिपूर्तिको माग अर्थ मन्त्रालयसँग भइरहेको बताउनुहुन्छ । “हामीले यही बजेटमा नै क्षतिपूर्ति दिने गरी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै अर्थ मन्त्रालयसँग बजेट मागेका छौँ,” उहाँले भन्नुभयो । तर आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहँदासम्म बजेट आएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार अहिले पुलवरपर रहेका २५ वटा घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने आवश्यकता छ ।

त्यस्तो क्षतिपूर्ति पाउनुपर्नेमा इच्छाकामना गाउँपालिका वडा नं. ५ का हेमलाल श्रेष्ठ हुनुहुन्छ । सडक र पुलछेउ कुखुराको खोर परेका उहाँहरूले आफूहरू विकासको बाधक नभएको तर राज्यले तोकेअनुसार क्षतिपूर्ति दिएर पुल सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले आफूले अहिले पनि सो टहरामा कुखुरा पालिरहेकाले सो छाड्दा १५ लाख रुपियाँको क्षति हुने भएकाले सो बराबरको क्षतिपूर्ति उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सकिएको दुई वर्र्षपछि मात्रै २०७७ असारदेखि १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको हो । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अड्चनका कारण पुल निर्माण सुरु गर्नमै ढिलाइ भएको थियो । सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुलाएर २०७६ चैत १० गते पुल ठेक्का सम्झौता गरेको थियो ।

सोहीअनुरूप ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा अनक कन्स्ट्रक्सनले निर्माण सुरु गरेको हो । अहिले बनेका पुलको चौडाइ नौ मिटरदेखि ११ मिटरसम्म छ । थप पाँच पुल निर्माणको अन्तिम चरणमा छन् भने खहरे खोला पुलको जगमै टहरा परेपछि निर्माण नै रोकिएको छ । तुइन पुलसँगै ठाडो भीर भएका कारण त्यसलाई ब्लास्ट गरेर फोर्नुपर्ने भएकाले निर्माण कार्य अघि बढ्न नसकेको बताइन्छ ।

“निर्माण सम्पन्न भएर पनि पुल सञ्चालनमा ल्याउन नपाउँदा जुन गतिमा सडक सञ्चालन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” नारायणगढ–मुग्लिन सडकका पूर्वइन्जिनियरसमेत रहनुभएका खनालले थप्नुभयो, “नारायणगढ–मुग्लिन सडकको विस्तार र पुल निर्माण सकिएपछि ३५ मिनेटमा सडक वारपार गर्ने भन्ने नारा पनि अहिले सार्थक भएको छैन ।”नारायणगढदेखि मुग्लिनसम्मको झन्डै ३६ किलोमिटर सडकमा रहेका १९ वटा पुलमध्ये चारवटा भने दुई वर्षअघि सडक विस्तारसँगै निर्माण सम्पन्न भइसकेका छन् ।

सन् २०१५ को अप्रिलमा सम्झौता भई चार वर्षमा पुनर्निर्माण सकिएकोे नारायणगढ–मुग्लिन सडक दुई लेनको विस्तार भइसकेको छ । यो सडक पुनर्निर्माणका लागि विश्व बैङ्कले तीन अर्ब ३६ करोड रुपियाँ खर्च गरेको थियो । पुल निर्माणको खर्च पछि थपिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>