गण्डकी
पहिलोपटक संसद्मा बोले दीपक मनाङे,भनेः म बोल्ने होइन काम गर्ने मान्छे हुँ

पोखरा,असार २९-
०७५ साल माघ १४ गते सोमबार साँझ सपथ लिँदै सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे)ले पहिलोपटक प्रदेश सभामा बोलेका छन् । उनीसँगै चुनाव जितेका अरू सांसदले ०७४ माघ ७ गते सपथ लिएर प्रदेश सभाको बैठकमा बोल्न अभ्यस्त भइसक्दा मनाङे चाहिँ सांसदबाट मन्त्री बन्न पुगे ।
गण्डकी प्रदेशसभामा लगातार तेस्रोपटक मन्त्री बन्ने उनी एकजना मात्रै हुन् । तत्लकाीन नेकपा सरकारमा एकपटक, एमाले सरकारमा एकपटक र गठबन्धनबाट तेस्रोपटक मन्त्रीपदमा रहेका मनाङेले प्रदेश सभा बैठकमा कहिल्यै बोलेनन् ।
सपथको भोलिपल्ट समयमा नै उपस्थित भएका उनी प्रदेश सभामा बोल्न चाहिँ साढे तीन वर्ष कुर्नपर्यो । त्यो पनि मन्त्रालयगत छलफलको क्रममा कुरा उठेपछि जवाफ दिने सन्दर्भमा । पहिलोपटक प्रदेश सभामा बोल्दा उनको हाउभाउ अलिक फरक देखिन्थ्यो । चस्मा झिक्दै लगाउँदै गरेका थिए ।
जसोतसो, कुरा दोहोर्याएर भएपनि उनले प्रदेश सभा बैठकमा मन्त्रीको हैसियतमा सांसदहरूलाई आफ्नो युवा तथा खेलकुद मन्त्रालयमाथि उठेका प्रश्नबारे जवाफ दिए । आफ्नै शैलीमा जवाफ दिने र स्पष्ट बोल्ने गरेका मन्त्री मनाङेले आफूले बनाएको बजेट सबै कार्यान्वयन हुने र त्यसको कार्यविधिसमेत निर्माण भइरहेको जानकारी दिए ।
चालु आर्थिक वर्षमा पाँच करोड फ्रिज हुने भएपछि सांसदहरूले प्रश्न उठाएको हुँदा त्यो रकम सामाजिक विकास मन्त्रालयको रहेका र गलत तरिकाले आफ्नो मन्त्रालयमा ल्याइएको बताए ।
“म एउटा कुराको जानकारी दिन चाहन्छु । पाँच करोड येवा तथा खेलकुदको बजेट होइन । यसलाई गलत तरिकाले युवा तथा खेलकुद मन्त्रालयमा ल्याएको रहेछ । यसरी बुझ्नुपर्छ । दुई करोड ५० लाख चाहिँ म आफैँले बनाएको बजेट हो । त्यसलाई मैले कसरी लागु गर्ने मलाई थाहा छ । यसमा ३३ प्रतिशत खेलाडीलाई ३३ प्रतिशत अपाङ्गलाई र ३३ प्रतिशत हामीले युवाहरूलाई सहभागी गराउने भनेर निर्णय गरेका छौँ । त्यसको कार्यविधि बनाइरहेका छौँ,” उनले भने ।
बजेट फ्रिज भए पनि सरकारको पैसा सरकारकै खातामा जाने भएकाले प्रश्न गर्न आवश्यक नरहेको उनले बताए । आफूलाई सुझाव दिँदा संसद्मा नभई बाहिर दिनसमेत उनले आग्रह गरेका छन् । आफू काम गर्ने मान्छे भएकाले भाषण गर्दै नहिड्नेसमेत उनले बताएका छन । सार्वजनिक कार्यक्रमदेखि मन्त्रालयको कार्यक्रममा पनि उनले भाषण गर्दैनन् । प्रमुख अतिथि बन्ने ठाउँमा त स्वकीय सचिवलाई बोल्न दिने गरेका छन् ।

























