कृषि
रत्ननगरका २७५ किसानले पाए दूधमा नौ लाख बढी अनुदान

चितवन, असार २९-
चितवनको रत्ननगरका २७५ किसानलाई दुध उत्पादनका आधारमा आज अनुदान रकम वितरण गरिएको छ ।
रत्ननगर–१३ मा रहेका जयमंगला दुग्ध उत्पादक सहकारी संस्थामा दुध बिक्री गर्ने २७५ जना किसानलाई अनुदान रकम वितरण गरिएको हो ।
वाग्मती प्रदेश सरकार अन्तर्गतको मत्स्य तथा पशुपंक्षी विकास निर्देशनालयले प्रदान गरेको रकम किसानलाई वितरण गरिएको सहकारीका व्यवस्थापक जनकराज पन्तले जानकारी दिए ।
प्रदेश सरकारले सो सहकारीलाई उपलब्ध गराएको नौं लाख ६१ हजार रुपैयाँबाट किसानलाई प्रतिलिटर एक रुपैयाँ ६३ पैसाको दरले अनुदान रकम वितरण गरेको हो । जयमंगलामा आयोजित कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले पशुपालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेका हुन् ।
व्यवसायिक रुपमा पशुपालन गरिरहेका सो सहकारीमा आबद्ध किसानहरुले अधिकतम ६३ हजार रुपैयाँसम्म अनुदान रकम पाएका छन् । सो अवसरमा मन्त्री खनालले मन परेको मान्छेलाई अनुदान रकम पाउने गतल प्रवृत्तिको अन्त्य गर्दै सोझै किसानलाई रकम दिन कामको सुरुवात गरिएको बताए । स्थानीय सरकार मार्फत अनुदान वितरण गर्दा बास्तविक किसानले नपाउने देखियो मन्त्री खनालले भने प्रदेश सरकारबाट दुग्ध सहकारीलाई बजेट दिँदा बास्तविक किसानले पाउँछन भनेर यसो गरिएको हो ।
मन्त्री खनालले यो व्यवस्था सबै क्षेत्रमा लागू हुने बताए । उनले राज्यले प्रदान गर्ने बजेट उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्ने भन्दै प्रदेश सरकारले त्यस्ता क्षेत्रहरुको पहिचान गरी लगानी गर्ने गरेको बताए । कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले किसानलाई अनुदान दिन प्रदेश सरकारले विनियोजन गरेको १६ करोड रुपैया मध्ये सात करोड ४१ लाख रुपैयाँ चितवनमा परेको जानकारी दिए ।
सहकारीका अध्यक्ष शिवप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी,आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल,सहकारीका संस्थापक अध्यक्ष ऋषिराम वाग्लेलगायतले मन्तव्य राखेका थिए ।
























