Breaking News

चितवनमा विप्लव र बहुमत पार्टीको चन्दा आतंक, शिक्षण संस्थाहरुमा १५ लाखसम्मको बार्गेनिङ

Banner

चितवन, असार २८-

चितवनमा विप्लव र बहुमत माओवादीको चन्दा आतंक बढेको छ ।

शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि विप्लव माओवादीले चितवनमा चन्दा आतंक बढाएको हो । पार्टी फुटेपछि पनि विप्लव र बहुमत पार्टी दुवै पक्ष अहिले कसले धेरै चन्दा उठाउने भनेर कस्सिएर लागिरहेको नागरिकको गुनासो छ । चितवनका निजी शिक्षण संस्थाका सञ्चालकहरुले दुवै माओवादी समूह आठ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म चन्दा माग्न आएको नारायणी अनलाइनलाई बताए । उनीहरुले यस्तो आतंकबाट डराएर प्रहरीलाई उजुरी गर्न समेत डराइरहेका छन् ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले चन्दा आतंकबारे चितवन प्रहरीमा यसबारे कुनै उजुरी नपरेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘यदि कोही व्यक्ति चन्दा माग्न आएको छ भने जानकारी प्रहरीलाई तत्कालै जानकारी गराउन अनुरोध गर्छु । कसैले पनि कोहीसँग जबरजस्ती चन्दा असुल्न मिल्दैन ।’

विप्लव माओवादी चितवनका सचिवालय सदस्य सुदिप पौडेलले आफूहरुले जिल्लामा कुनै चन्दा नमागेको तर पार्टीको अधिवेशनको लागि केन्द्रबाट नै रसिदहरु आइसकेको बताए । उनले भने, ‘जिल्लाको हस्ताक्षरबाट कुनै चन्दा मागिएको छैन । तर, आर्थिक समितिको बैठक बसेपछि केन्द्रले पठाएको रसिद महाधिवेशनको लागि वितरण गरिन्छ ।’ उनले असोज १ देखि ८ गतेसम्म पार्टीको काठमाडौँमा हुने अधिवेशनको लागि चितवनबाट राम्रै रकम उठाउने योजना रहेको बताए । उनले नेकपा बहुमत पार्टीका केही नेता तथा कार्यकर्ताहरुले चन्दा उठाएको भन्ने सुन्नमा आएको बताए ।

त्यसैगरी बहुमत पार्टीका चितवन जिल्ला इन्चार्ज महेश चौधरीले पनि विप्लव समूहले उठाइरहेको होला आफूहरुले विद्यार्थी संगठनको अधिवेशनको लागि सीमित शुल्क उठाउने कुरा रहेको बताए । उनले वासु वाग्लेको स्मृत्तिमा चितवनमा अधिवेशन गर्न लागिएको बताए । उनले भने, ‘अधिवेशनलाई केन्द्रित गरेर शिक्षण संस्थाहरुबाट चन्दा उठाइन्छ । रसिदहरु गइसकेको छैन तर हामी खर्च चल्ने गरी उठाउने सोचमा छौं ।’ उनले विद्यार्थी संगठनहरु सरकारसँग वैज्ञानिक र निःशुल्क शिक्षाको लागि पनि लडिरहेको दाबी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>