Breaking News

नेपालमा प्रचण्डलाई सबै भन्दा धेरै सुरक्षा ‘थ्रेट’, ३० बढी सुरक्षाकर्मीको निगरानीमा

Banner

काठमाडौं, असार २७-

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गएको शुक्रबार गोली प्रहार भयो । त्यसपछि उपचारका क्रममा उनको निधन भयो ।

विश्वका विभिन्न देशहरूमा ‘भीआईपी’माथि आक्रमण हुँदै आएको छ । आक्रमणबाट कतिपयको ज्यान समेत गएको छ ।

पछिल्लो समय श्रीलंकामा पनि भीआईपीहरूलाई सुरक्षा ‘थ्रेट’ देखिएको छ । आन्तरिक राजनीतिक अस्थिरताले त्यहाँका नेताहरूमा थ्रेट देखिएको हो । छिमेकी भारतमा पनि पटक–पटक नेताहरूमाथि आक्रमण भएको छ । सुरक्षा अधिकारीहरूका अनुसार नेता र विशिष्ट व्यक्तिमा थ्रेट आन्तरिक र बाह्य कारणले हुने गर्छ । यसमा उनीहरूले शासनमा रहँदा गरेका निर्णय वा कदमको भूमिका हुन्छ । नेपालमा पनि बेलाबेला भीआईपी र भीभीआईपीहरूमाथि भौतिक आक्रमण भएका घटनाहरू छन् । गणतन्त्र घोषणापछि केही शीर्ष नेताहरूमाथि आक्रमण भएको छ । ०६९ मंसिरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीकै कार्यकर्ताले सार्वजनिक कार्यक्रममा झापड हाने ।
प्रचण्डमाथि नै २०७६ फागुनमा कार्यक्रममै रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि २०७६ माघ ७ गते सुनसरीमा नेकपा (एमाले)का कार्यकर्ताले झापड हानेका थिए । त्यति बेला उनी प्रधानमन्त्री बनेका थिएनन् । तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि २०६९ असोजमा आफ्नै कार्यकर्ताबाट कुर्सी प्रहार भएको थियो । यसबाहेक केही भीआईपीमाथि गोली प्रहार समेत भएका छन् ।

थ्रेटको पहिलो नम्बरमा प्रचण्ड

प्रहरी अधिकारीहरूका अनुसार थ्रेटको पहिलो नम्बरमा प्रचण्ड छन् । युद्धबाट राजनीतिमा आएका उनलाई पूर्वविशिष्टमा सबैभन्दा बढी सुरक्षा दिइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उनको सुरक्षामा तैनाथ छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीले विशिष्टस्तरको सुरक्षा पाउँछन् । उनीहरूलाई सरकारले १५ सशस्त्र प्रहरी र दुई नेपाल प्रहरीका सुरक्षा अधिकारी उपलब्ध गराउँछ । तर, प्रचण्डको सुरक्षामा ३० बढी सुरक्षाकर्मी खटिएको बताइन्छ । सुरक्षा संवेदनशीलता भन्दै कसको सुरक्षामा कति खटिएका छन् भन्ने बताउन नमिल्ने सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।

प्रचण्डलाई बाह्य रूपमा नभई आन्तरिक सुरक्षा चुनौती रहेको सुरक्षा अधिकारीको दाबी छ । एक अधिकारीले भने, ‘युद्धका बेला कैयौँले आफन्त गुमाएका छन्, बेपत्ता छन् । घाइते छन् । माओवादीकै नेता–कार्यकर्ताको विचल्ली छ । यस्तोमा उनीहरूबाटै प्रचण्ड जोखिममा छन् । बाह्य कारण भने देखिँदैन ।’

एमसीसी प्रकरणको विवाद चर्किएपछि नेपालमा केही नेताहरूको सुरक्षा बढाइएको छ । एमसीसीविरोधीबाट खतरा भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको पनि सुरक्षा बढाइएको थियो । प्रचण्डबाहेक माओवादीका अरू केही नेताहरूलाई पनि सुरक्षा खतरा रहेको प्रहरी निष्कर्ष छ ।

कांग्रेस महामन्त्री गगन थापाको सुरक्षा पनि बढाइएको थियो । उनी सहभागी हुने कार्यक्रममा प्रहरी उपस्थिति बढाइएको थियो । गृहमन्त्रीको नेतृत्वमा रहने केन्द्रीय सुरक्षा समितिले थ्रेटको तह हेरेर सुरक्षाको व्यवस्थापन गर्दै आएको छ । तर, सत्तामा रहँदा कतिपय अवस्थामा सुरक्षाकर्मीको दुरुपयोग पनि हुने गरेको पाइन्छ ।

सुरक्षा थ्रेटबारे प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोले पनि अध्ययन गरिरहेको छ । ब्युरोले सरकारलाई सुझाव दिने गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई थ्रेट रहेका विशिष्टको सुरक्षामा प्रहरीले सतर्कता अपनाउँदै आएको बताउँछन् । उनले भने, ‘थ्रेट विश्लेषण हाम्रो विशेष ब्युरोले गर्छ । प्रहरी सधैँ सुरक्षामै हुन्छ । थ्रेटको कारण पनि हामी खोज्छौँ । परिस्थितिअनुसार संख्या थपघट हुनसक्छ ।’

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ मा बहालवाला प्रधानमन्त्रीको सुरक्षामा २०० जना नेपाली सेनाको टोली खटाइने व्यवस्था छ । यसबाहेक प्रहरीका डीएसपी र दुई इन्सपेक्टरसहित ६२ प्रहरी खटाइन्छ । प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र, जनपद, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी ३०० को हाराहारीमा सुरक्षाकर्मी खटिन्छन् ।

राष्ट्रपतिको सुरक्षामा सेनाका २७५ जनाको टोली खटाइन्छ । यसबाहेक सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट १४ सुरक्षाकर्मी खटिन्छन् । राष्ट्रपति र प्रधानमन्त्रीको मुख्य सुरक्षा जिम्मेवारी सेनाले नै निर्वाह गर्दै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई अति विशिष्टस्तरको सुरक्षा दिइन्छ ।

जापान र श्रीलंकाको पछिल्लो घटनाक्रमपछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ । पछिल्लो समय नेपालमा विप्लव समूहलाई आन्तरिक सुरक्षामा ठूलो चुनौतीका रूपमा लिइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ले शान्तिपूर्ण राजनीति गरिरहेको भए पनि केही दिनअघि उनले सार्वजनिक कार्यक्रममै ‘न्यायाधीशलाई कुट्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो समूहका कार्यकर्ताले विभिन्न स्थानमा जनप्रतिनिधिहरूलाई मोसो समेत दल्दै आएका छन् । उनीहरूका गतिविधिलाई सुरक्षा निकायले निगरानीमा राखिएको जनाएका छन् ।

(केशवराज जोशी, बाह्खरी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>