गण्डकी

यी हुन आफ्नै अक्षयकोषलाई सवा करोड बजेट छुट्याउने सांसद

Banner

बागलुङ,असार २७-

काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको गाउँमैत्री अक्षयकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० मा अक्षयकोषका लागि उक्त बजेट विनियोजन गरेको हो। प्रदेश सांसद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम)को विवाहका क्रममा २०६६ सालमा १० हजारबाट उक्त कोष शुरु भएको थियो।

व्यक्तिगत रूपमा स्थापित उक्त अक्षयकोष अहिले सामुदायिकमा रूपान्तरण गरेको सांसद पियारी थापा बताउँछिन्। उनले सिंगो समाजलाई समेटेर सामाजिक संस्थाको रूपमा विकास गरेको जिकिर गरिन् तर स्थानीय बासिन्दाले सामुदायिक रूपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन्। उक्त अक्षयकोषका लागि सांसद थापाले आगामी आर्थिक वर्षको बजेटसहित १ करोड २० लाख रुपैयाँ विनियोजन गरेकी छिन्।

अक्षयकोषका अध्यक्ष उनकै श्रीमान् हेमराज हुन् भने संरक्षक सांसद थापा हुन्। सांसद थापाले कला, साहित्य र संगीतको संरक्षण तथा पहिचानका लागि अक्षकोष स्थापना गरेको बताइन्।

वि.सं. २०६६ सालमा स्थापित अक्षयकोष २०६८ सालमा मात्रै दर्ता भएको छ। अक्षयकोषका लागि आर्थिक वर्ष २०७७।०७८ मा १० लाख, चालू आर्थिक वर्षमा ५० लाख र आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन भएको पाइएको छ। सांसद थापाले अहिले आफ्ना श्रीमान् कोषका अध्यक्ष रहेकोमा नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको बताइन्।

सांसद थापाका श्रीमान् हेमराजले अक्षयकोषले विस्तृत योजनाका साथ संग्रहालय स्थापना गरेको बताए। उनले अहिले संग्रहालयको तीन तला निर्माण भएको भन्दै त्यसको फिनिसिङ गर्न बाँकी रहेको बताए। आश्रमले प्रदेश सरकारले शुरुमा विनियोजन गरेको १० लाखबाट देशकै ठूलो नगरा बनाएको बताउँछन्।

‘प्रदेश सरकारले शुरुमा विनियोजन गरेको १० लाखले देशकै ठूलो नगरा निर्माण गर्‍यौँ, चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटले तीन तलाको भवन ठडाएका छौँ। आगामी वर्षको बजेटले त्यसको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने योजना छ’, आश्रमले भने, ‘यहाँ नेपाल लगायत विश्वभरका बाजाहरूको संग्रह गरिनेछ।’

१० हजार रुपैयाँबाट शुरु गरेको उक्त अक्षयकोषमा १ लाख २० हजार पुगेको हेमराजको भनाइ छ। अक्षयकोषको ६ रोपनी जग्गा समेत रहेको उनले बताए। उनी अक्षयकोष समितिका दोस्रा अध्यक्ष हुन्। उनी २०६९ सालदेखि अध्यक्ष छन्। उनले विधानअनुसार २‚२ वर्षमा साधारण सभा हुने गरेको बताए।

अक्षयकोष सामुदायिक भने पनि व्यक्तिगत तवरले सञ्चालन गरिरहेको स्रोतले बतायो। आधिकारिकता दिनका लागि समिति भए पनि अक्षयकोषको हिसाबकिताब चाहिँ व्यक्तिले गर्ने गरेको बुझिएको छ। सोही गाउँका एक स्थानीयले सांसद थापाले अन्य योजनाभन्दा यसैलाई बढी प्राथमिकता दिएको बताउँछन्।

‘माननीयज्यूले अन्य योजनाभन्दा यसलाई विशेष फोकस गर्नुभएको छ, यहाँ नागरिकका कति धेरै समस्या छन् तर उहाँले ती समस्या समाधानभन्दा अक्षयकोषलाई बढी जोड दिएको पाइन्छ’, ती व्यक्तिले भने, ‘अक्षयकोष सामुदायिक भन्छन् तर व्यक्तिकै चल्छ, परिवारकै चल्छ।’

‘अक्षयकोष सञ्चालक समितिमा हेमराजका आफन्तहरू मात्रै रहेका छन्’, स्रोतले भन्यो, ‘माननीयका श्रीमान् र परिवारले सञ्चालन गरेको कोषलाई वर्षैपिच्छे बजेट आउँछ तर यहाँका अरू थुप्रै समस्या छन्, तिनका बारेमा चासो देखिएन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>