Breaking News

गण्डकीमा मुख्यमन्त्रीले आफ्ना बुबाको नाममा करोडौं बजेट पारेपछि कांग्रेस नेताहरूकै विरोध

Banner

काठमाडौं, असार २६-

प्रदेश सरकारले असार १ मा ल्याएको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा विनियोजन गरिएका योजनाबारे भने कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरेका छन् ।

गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेको हो ।

यस्ता योजना ल्याउनेमा मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्। मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो ।

यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ । अहिले गण्डकीका योजनालाई लिएर मुख्यमन्त्रीलगायतको आलोचना भइरहेको छ । कांग्रेसका उपसभापति धनराज गुरूङले नेताका नाममा खुलेका ट्रष्टलाई राज्यकोषबाट बजेट हाल्न नहुने बताए।

‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ– नेताहरुको नाममा खोलेको ट्रष्ट÷फाउन्डेसनमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो  । रोक्नु पर्छ,’ उपसभापति गुरूङले भने । राज्यकोषको बजेट नेताका नाममा खोलिएका संस्थामा राख्ने प्रवृत्ति बढ्दै गएको उनले बताए । ‘तर यो प्रवृत्ति झनै बढेको छ । श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलोस्,’ गुरूङले भने ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको प्राथमिकता हेर्दा संघीयताको धज्जी उडाउने काम भएको टिप्पणी गरेका छन् । ‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको धज्जी उडेको छ,’ उनले भने, ‘व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैं बजेटलाई कनिका जस्तो छर्ने । यस्तै निरन्तरता हुने हो भने सयौं वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन,’ पौडेलले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>