Breaking News

प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती प्रहरी नियन्त्रणमा

Banner

चितवन, असार २५-

चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि  पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २६ वर्षीय पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् । फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले । तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुष ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।

वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । ती युवतीले विभिन्न बहाना गर्दै घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।

अधिवक्ता फूलमाया रानाभाटले नेपालमा केटाकेटी लिभिङ टुगेदरमा बस्ने क्रमसँगै केटा केटी दुवै ठगिने क्रम बढ्न थालेको बताइन् । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएसँगै यो क्रम महिला वा पुरुष दुवै ठगिने घटनाहरु बढेको बताइन् । उनले भनिन्, ‘यस्ता घटनालाई प्रहरी प्रशासनले पनि गम्भिरतापूर्वक लिएको छैन । सामान्य सहमति गराएर छाड्ने गरेको छ । प्रेमको नाममा नाटक गरेर ठगिने घटना समाजमा धमिराजस्तै फैलिँदै गएको छ ।’ उनले आजभोलि युवायुवती मेहनत नगरी सजिलोसँग पैसा कमाउन यस्ता अनैतिक क्रियाकलापमा लाग्ने गरेको बताइन् । उनले यस्ता घटनालाई समाजमा हतोत्साही गर्दै जानुपर्ने बताइन् । चितवन प्रहरीले ठगी गर्ने नयाँ प्रवृत्ति चितवनमा बढ्न थालेको भन्दै साइबर क्राइमबारे सचेततामूलक कार्यक्रम गराउँदै आएको छ । चितवन जिल्ला अदालतका अनुसार अहिले सबैभन्दा धेरै दर्ता भएका मुद्दा पारपाचुकेकै रहेका छन् । सामाजिक सञ्जालबाट सजिलै प्रेममा परेर विवाह गर्ने र स्वार्थ पूरा गरेपछि वा अन्य कुनै सामान्य कारण देखाउँदै सजिलै टाढिने क्रम बढ्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>