Breaking News

भरतपुरमा दुई दिने रोजगार मेला सकियो, दुई हजार ८१३ जनाले गरे रोजगारको आवेदन

Banner

चितवन, असार २३-

रोजगार सिर्जनाका लागि भरतपुरमा आयोजित दुई दिने वृत्ति तथा रोजगार मेलामा दुई हजार ८१३ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

हिजो बुधबार र आज बिहीबार गरेर सो संख्यामा युवाहरुले रोजगारीको आवेदन दिएका हुन् ।

भरतपुरस्थित चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी लिन आउनेको उल्लेख्य सहभागिता रहेको पाइएको छ । दुई दिनको अवधिमा करिब ५० जनाले रोजगारीका लागि लिने र दिनेबीच सहमति भएको बताइएको छ । आवेदन दिएका मध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा काम गर्न चाहनेहरु रहेका भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना गरिएको मेलाले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी सिजनल रोजगारी दिने लक्ष्य लिइएको थियो । मेलामा संकलन गरिएको तथ्याङ्कको अभिलेख अनलाइनमा राखिने छ । यसका लागि एप्स निर्माण भइरहेको शैक्षिक महाशाखा प्रमुख पौडेलले बताए । यो एप्समा अब अनलाइन रोजगारी लिने र दिनेका लागि खुला गरिने छ । भरतपुर महानगरपालिका र रत्ननगरको श्रम बजार एउटै भएकाले दुई स्थानीय तहले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

मेलामा चितवनका शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगलगायतका क्षेत्रबाट सहभागिता रहेको थियो । यसअघि नेपालका कुनै पनि स्थानीय तहले रोजगार मेला नगरेकोले यो पहिलो प्रयास गरिएको भरतपुर महानगरले जनाएको छ । यसको प्रभावकारिता राम्रो हुने अपेक्षा पनि लिइएको छ । रोजगार दिने र लिनेको बीचमा स्थानीय तहले प्रत्यक्ष निगरानी गर्ने हुनाले सबै कुरा पारदर्शी हुने विश्वास पनि लिइएको छ । यसअघि रोजगारी लिने र दिने बीच हुने विकृति वा अपारदर्शीता हटेर जाने पनि आकलन गरिएको छ । अवलोकनको लागि सबैलाई निःशुल्क गरिएको मेलामा करिब ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>