चितवन विशेष

‘सामी’ परियोजना लागू गर्न भरतपुरका वडाअध्यक्षहरु इच्छुक

Banner

चितवन, असार १७–

सुरक्षित आप्रवासन परियोजना (सामी) बारे भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराईएको छ ।

आज (शुक्रबार) भरतपुरमा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा समी परियोजनाबाट भइरहेका काम र यसले पारेको प्रभावको बारेमा जानकारी गराईएको हो । समी परियोजनाका चितवन संयोजक सूर्य पौडेलले वैदेशिक रोजगारीमा जानेहरुका लागि यो परियोजना उपयोगी भएको बताए । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुले परियोजनासंग सरसल्लाह गर्ने गरेका छन् ।

परियोजनाले हाल चितवनका ४ वटा पालिकाहरुमा कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा परियोजनाले काम गर्दै आइरहेको संयोजक पौडेलले बताए । परियोजनाले सूचनाको पहुँच, न्यायमा पहुँच, वित्तिय साक्षरता, मनोसामाजिक परामर्श र सीपयुक्त जनशक्तिको विकास कामहरु गर्दै आइरहेको छ । चितवनमा जिल्ला प्रशासन कार्यालय हाताभित्र समी परियोजनाको कार्यालय रहेको छ । जहाँबाट राहदानी लिन आउनेहरुलाई सचेतना दिने गरेको छ । यस्तै सीप सिक्न चाहने युवाहरुलाई निःशुल्क रुपमा सीप तालिमहरु समेत प्रदान गरिरहेको पौडेलले बताए । यसबाट विदेश जान चाहने युवाहरु ठगीबाट जोगिन धेरै सहयोग मिलेको छ ।

यस परियोजनाको कार्य सुनेपछि भरतपुरका वडा अध्यक्षहरु परियोजना लागू गर्न उत्साहित छन् । भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले थोरै लगानीमा परियोजनासंग सहकार्य गरेर वैदेशिक रोजगारीमा आइपर्ने समस्या समाधन गर्न सहज भए वडा कार्यालयले परियोजनासंग सहकार्य गर्न तयार रहेको बताए । ‘हामी वडास्तरबाट पनि विदेश जान चाहने स्थानीयहरुलाई सचेतना र सीप शिकाउन सक्छौं, हामी सामी परियोजनासंग सहकार्य गर्न तयार छौं’–वडा अध्यक्ष महर्जनले भने ।

कार्यक्रममा सामी परियोजना लागू भएको वडा नं.२२ का वडा अध्यक्ष विष्णुराज महतोले विदेश जान चाहेन युवाहरुका लागि परियोजनाबाट धेरै सहयोग मिलेको बताए । विदेश गइसकेका र समस्या भागिरहेकाहरुलाई पनि परियोजनाले सहयोगी भूमिका निर्वाह गरेको भन्दै परियोजनाको औचित्य पुष्टि भएको बताए । ‘उहाँहरु (सामी परियोजन)संग सहकार्य गर्दा हामीलाई धेरै सहज भएको छ, वैदेशिक रोजगारी सम्बन्धी समस्याहरु समाधान गर्न उहाँहरुबाट सहयोग मिलेको छ’–वडा अध्यक्ष महतोले भने ।

भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले पछिल्लो समय विदेश जानेको संख्या अझै बढ्दै गइरहेको भन्दै यस प्रकारका कार्यक्रमहरु आवश्यक रहेको बताए । उनले विदेश जाने मान्छेहरु सीप सिकेर जानुपर्ने भन्दै यसका लागि वडा कार्यालय तयार रहेको बताए । उनले सीपका लागि तालिम आयोजना गर्दा समेत तालिम लिन नआउने गरेको तितो अनुभव सुनाउँदै वडा अध्यक्ष खनालले भने–‘विदेश जाने मानिसहरु आफै पनि जागरुक हुनुपर्छ, विदेश गएर कोही पनि सीपकै कारण अलपत्र नपरुन भन्ने हाम्रो चाहना हो तर सिक्न कोही खोज्दैनन् ।’

पछिल्लो समय चितवनबाट वैदेशिक रोजगारीका लागि जानेहरुको संख्या पनि बढ्दो छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा चितवनबाट १२ हजार ६ सय ६१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । आर्थिक वर्ष ०७८/०७९ को सोही अबधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिनेको सख्या भने ५ लाख ६७ हजार ८ सय ३९ रहेको कार्यक्रममा प्रस्तुत गरिएका २ वटा कार्यपत्रले देखाएको छ । गत आर्थिक वर्षमा चितवनबाट ४ हजार १ सय १६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् भने बागमती प्रदेशबाट श्रम स्वीकृत लिनेको सख्या भने २४ हजार ९३ रहेको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृत लिएर बिदेश जानेको सख्या ५८ लाख रहेको कार्यपत्रमा उल्लेख गरिएको छ ।

गत फागुनदेखि यता दैनिक सरदर १ हजार ७ सय जना वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृत नलिइकन अबैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जानेको सख्या पनि उल्लेखिय रहेको छ । यस्तै वैदेशिक रोजगारीमा गएका मध्ये १४ प्रतिशत बागमती प्रदेशका रहेको सामी परियोजनाका संयोजक तथा बागमती प्रदेशका कार्यक्रम सयोजक तरुण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार हाल नेपालमा दैनिक ३ देखी ५ जना कामदारको शव भित्रिने गरेको छ । प्रत्येक वर्ष करिब ४ लाख ५० हजार ब्यक्तिहरु श्रमको खोजीमा श्रम बजारमा जाने गरेका छन् ।

नेपालमा सिमित रोजगारी र गरिबीका कारण वैदेशिक रोजगार प्रती नेपालीहरुको आकर्षण बढदो छ । देशभित्र पर्याप्त रोजगारीको अबसर उपलब्ध नभएकोले युवाहरु अल्पकालीन रुपमा वैदेशिक रोजगारीको बाटो अपनाइ रहेको संयोजक अधिकारीले बताए । गरिबी घटे पनि वैदेशिक रोजगारीमा जानेको सख्या भने नघटेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीको पाटोलाई सुरक्षित र भरर्पर्दो बनाउन भन्दै सुरक्षित आप्रवासन (सामी) परियोजनाले स्वीस सरकार र नेपाल सरकारको सहयोगमा विगत १२ वर्षदेखि वैदेशिक रोजगारमा जाने युवा युवती लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ ।

परियोजनाले पहिलो चरणमा दुई जिल्ला, दोस्रो चरणमा १८ जिल्ला र तेस्रो चरणमा ३९ जिल्लाका १ सय ५६ स्थानीय तहमा काम गरिरहेको छ । प्रदेश १ को ८ जिल्ला, मधेस प्रदेशको ८ जिल्ला, बागमती प्रदेशको ८ जिल्लामा परियोजना लागू भईरहेको छ । यस्तै गण्डकी प्रदेशको ६ जिल्ला, लुम्बिनी प्रदेशको ७ जिल्ला, कर्णाली प्रदेशको १ जिल्ला र सुदूरपश्चिम प्रदेशको १ जिल्लामा सामी परियोजना संचालित भईरहेको छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले रेमिटान्सको मात्रै भर परेर बस्ने अवस्था नरहेको बताए । उनले सबै नागरिकहरु आत्मनिर्भर बन्न आवश्यक रहेको भन्दै वैदेशिक रोजगारीको बाध्यतालाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । विदेश जाने नेपालीहरु विभिन्न कारणले समस्यामा पर्ने गरेको भन्दै उनीहरुको उद्धार र सचेतनाको लागि सामी परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा मेड नेपालका अध्यक्ष ऋषि न्यौपानेले सामी परियोजनाबाट भइरहेको गतिविधिलाई नवनिर्वाचित जनप्रतिनिधिले पनि थाहा पाओस् भन्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले सामी परियोजनाले सबैले साथ र सहयोग गरे अगाडि बढाए धेरै नेपाली ठगी र समस्याबाट बच्न सक्ने बताए ।

कार्यक्रममा महानगर शिक्षा शाखा प्रमुख महेन्द्र पौडेल, भरतपुर १३ का अध्यक्ष प्रकाश दवाडी, महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, भरतपुर २४ का वडा अध्यक्ष राम बहादुर गोदारलगायतले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अवस्था निकै डरलाग्दो र भयावह रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>