Breaking News

चितवन मानव बेचबिखनको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएकामा सरोकारवालाको चिन्ता

Banner

चितवन, असार १६–

चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (ट्रान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ ।

आज भरतपुरमा शक्ति समूहले गरेको ‘बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा

प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको हो ।

विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा विदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाले बताए । अधिवक्ता कोइरालाका अनुसार चितवनसहित नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ । शक्ति समूह मानव बेचबिखन ओसारपसार तथा बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो ।

कोइरालाका अनुसार नेपालमा रहेका ४५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जसमध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावकसहितका देखिन्छन् । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन् तर उनीहरु खुलेर आउन नचाहेको देखिन्छ । विदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको कोइरालाले बताए । उनका अनुसार प्रति १०० मा एक जनाको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अवैधरुपमा सञ्चालनमा आएका बालगृहहरुलाई बन्द गर्ने तयारी पनि गरिरहेको छ ।

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारले मानवले मानबलाई दुःख दिने कार्य पछिल्लो समयमा भयाबह बन्दै गएको प्रति दुःख व्यक्त गरे । उपप्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे । कार्यक्रममा भरतपुर महानगर स्वास्थ तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेलले कुनै पनि बहानामा कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुलाई पनि मानव बेचबिखन भनिने बताइन् । भरतपुर महानगरले बिगतका वर्षदेखि नै चितवन जिल्ला बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुर्नस्थापना गर्दै आइरहेको छ ।

नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सञ्चालनमा रहेका छन । विदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सञ्चालनमा रहेको शक्ति नेपालले जनाएको छ । ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । कार्यक्रममा भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैधरुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्ने बताए । उनले मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र चितवन बन्दै गएको कुरा सुन्दा निकै दुःख लागेको बताउँदै यस कार्यलाइ तत्काल रोक्न हामी सबै लाग्नुको विकल्प नभएको बताए ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन परियोजना अधिकृत इन्दिरा सापकोटाले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>