Breaking News

नारायणगढबाट पश्चिमतर्फ उद्योगहरू विस्तार हुँदै, अटो उत्पादनको ‘हब’ बन्दै नवलपरासी

Banner

नवलपरासी, असार २-

चितवनसँगै जोडिएको नवलपरासी जिल्ला नेपालको अटो हब बन्ने भएको छ । विगत ५ वर्षदेखि सवारीसाधन उत्पादनमा जुटेको नवलपरासी अधिकांश ब्राण्डको रोजाइमा परेको छ ।

नवलपरासीको रामग्राममा पहिलो पटक बजाजले एसेम्बल प्लान्ट लगाएको थियो । त्यसपछि यहाँ विभिन्न ब्राण्डले मोटरसाइकल तथा गाडी उत्पादनको प्लान्ट स्थापना गर्न आवश्यक जमिन खरिद गरेका थिए ।

अहिले चल्तीका ब्राण्ड होन्डा, यामाहा जस्ता ब्राण्डले यहाँ प्लान्ट स्थापनाको काम तीव्र गतिमा अगाडि बढाएका छन् । साथै, टीभीएसले पनि यही क्षेत्रमा नयाँ प्लान्ट लगाउन आवश्यक जमिन खरिद गरेको छ । त्यसैगरी, यही क्षेत्रमा महिन्द्रा र हुन्डाईले पनि प्लान्ट स्थापनाको योजना तयार गरेर आवश्यक जमिन किनिसकेका छन् ।

‘यो क्षेत्र अटोमोबाइलको लागि ठूलो हब बन्ने तयारी देखिन्छ । यसले समग्र नवलपरासी, रुपन्देही जस्ता जिल्लालाई अटोमोबाइलकै कारण चिनाउने अवस्था आएको छ’, लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराईले मेरो अटोसँग भने ।

यस कारण बन्दै छ अटो हब

विशेषतः नवलपरासी नेपालको मध्यभागमा रहेको कारण त्यहाँबाट काठमाडौं, पूर्व र सुदूरपश्चिम सबै भेगमा उत्पादित सामान पठाउन सहज रहेको छ । साथै, समथर जमिन, बाटो र बत्तीको सहज पहुँच भएकै कारण यहाँ धेरै उद्योग खुलेका हुन् । अर्को भैरहबा भन्सार क्षेत्र नजिक भएकै कारण पनि यो क्षेत्र धेरैको छनोटमा परेको हो ।

नेपालमै पहिलो पटक मोटरसाइकलको व्यवस्थित एसेम्बल यूनिट लगाएका हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाको बुझाइमा कम राजनीतिक चपेटामा पर्नु, आवश्यक जमिनको उपलब्धता जस्ता कारण यो क्षेत्रमा उद्योग लगाउने बढेका हुन् ।

‘जहाँ वातावरण हुन्छ, त्यहीँ लगानी बढ्ने हो । अहिलेसम्मको अवस्था हेर्दा नवलपरासी जिल्ला नै औद्योगिक हबको रूपमा विकास हुने देखिन्छ’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छाले भने ।

यसअघि नेपालको सबैभन्दा ठूलो औद्योगिक हब वीरगंज क्षेत्र थियो । अहिले यो क्षेत्रमा नयाँ उद्योग बढ्न सकेका छैनन् । नेपालका विभिन्न राजनीतिक आन्दोलनपछि नारायणगढबाट पश्चिमतर्फ उद्योगहरू विस्तार हुँदै गएको देखिन्छ । अहिले नवलपरासी र रुपन्देही जिल्लामा मात्रै दर्जनौं उद्योगहरू संचालनमा आएका छन् ।

स्थानीय उद्यमी तथा लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष गुणनीधि तिवारी यो क्षेत्रमा औद्योगिक विकास हुनुको मुख्य कारण भारतसँग सहज व्यापार गर्ने मध्यमलाई मान्छन् । उनी भन्छन्, ‘नवलपरासीको रामग्राम क्षेत्रमा तुलनात्मक रुपमा सस्तो जमिन, ठूला आर्थिक र राजनीतिक संकटमा पनि यहाँ न्यून प्रभाव, ठूला र साना भन्सार नाकाबाट नजिक रहेकै कारण यहाँ ब्यवसायीले उद्योग लगाउन थालेको हुन् ।’

सरकारले मोटरसाइकल तथा कार उत्पादनको लागि आवश्यक वातावरण निर्माण गर्ने भन्दै केही सहुलियत घोषणा गरेको छ । विगतदेखि नै मोटरसाइकल एसेम्बल उद्योगलाई ५० प्रतिशत अन्तःशुल्कमा छुट दिँदै आएको छ भने अहिले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्दा आवश्यक पर्ने वस्तु आयातमा एक प्रतिशत मात्रै भन्सार दर लाग्ने घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतीय गाडी उत्पादन गर्ने उद्योगलाई सञ्चालनमा आएको पाँच वर्षसम्म ४० प्रतिशत आयकरमा छुट दिने घोषणा गरेको छ । साथै, पेट्रोलियम पदार्थबाट चल्ने कार एसेम्बल उद्योग चलाउने कम्पनीलाई भन्सारमा २५ प्रतिशत र अन्तःशुल्क ५० प्रतिशतले छुट दिने घोषणा गरेको छ ।

सरकारी घोषणासँगै विभिन्न ब्राण्डले गाडी उत्पादनको लागि प्रयास थालेका छन् । यसरी प्रयास थाल्नेमा हुन्डाई, सुजुकी र महिन्द्रा सबैभन्दा अगाडि छन् । महिन्द्रा र हुन्डाईले नवलपरासीमा नै उद्योग लगाउने तयारी थालेका हुन् ।

(मेरो अटो डट कमबाट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>