Breaking News

पुुल्चोक गोन्द्राङ सडक निर्माणः लक्ष्य भन्दा ८ प्रतिशत कम काम, लगातारको पानीले काम गर्न समस्या

Banner

प्रतिमा कुमाल

चितवन, जेठ २६-

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक निर्माणको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको झण्डै दुई वर्षमा पनि निर्माणले गति लिन नसकेको हो ।

सडक निर्माणको लक्ष्यभन्दा ८ प्रतिशत कम काम भएको छ । निर्माण सम्झौता सकिन नौ महिना मात्रै बाँकी छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म सम्झौता अनुसार ४९ प्रतिशत काम सक्नुपर्नेमा ४१ प्रतिशत मात्र काम सम्पन्न भएको बताए ।

निर्माण सामग्रीको मूल्यवृद्धि र जिल्लामा कच्चा पदार्थ (ढुंगा गिटी,बालुवा) को अभावका कारण पनि निर्माणले सोचेअनुसार गति लिन नसकेको उनको भनाइ छ । अन्य सडकहरुको तुलनामा भने यो सडकखण्डको प्रगति आशलाग्दो भएको खनालले बताए ।

‘बर्षात्का कारण निर्माण स्थलमा पानी जम्दा काम रोकिने र सञ्चालन हुने क्रम जारी छ’, उनले भने, ‘प्रि मनसुन सक्रिय भइसकेकाले काम गर्न समस्या भइरहेको छ ।’ ६ किलोमिटर लामो सडकलाई ६ लेनमा विस्तार गरिँदै छ ।

विसं. २०७७ साल कात्तिक २६ गते सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा लिएको बुटवलको इन्डो सगुन जेभीले एक अर्ब १२ करोडमा ठेक्का सम्झौता गरेको हो । सडक निर्माण कम्पनीलाई ३३ प्रतिशत रकम भुक्तानी दिइसकेको कार्यालयले जनाएको छ । सम्झौता अनुसार २०७९ साल फागुन १० गतेसम्म सडक निर्माणको म्याद छ तर कामले गति लिन सकेको छैन । अहिले सडकको अवस्था हेर्दा खासै प्रगति भएको नदेखिए पनि आउँदो असार मसान्तभित्र सर्वसाधारणले यसको अनुभूति गर्ने खनालको दाबी छ ।

‘असार मसान्तसम्म गोन्द्राङदेखि केन्द्रीय बसपार्कसम्मको सडकमा एक तहको कालोपत्रे सम्पन्न हुन्छ’, उनले भने, ‘केन्द्रीय बसपार्कदेखि चौबिसकोठीसम्म कम्तिमा सर्भिस लेन एक तहको कालोपत्रे गर्ने लक्ष्य छ । चिल्लो सडकमा सवारीसाधन गुड्न नपाएका कारण प्रगति नदेखिएको हो,अबको केही महिनामा नागरिकले अनुभूति गर्नेगरी काम हुन्छ । उनले सडक निर्माण पश्चात हाकिमचोक र चोबिसकोठी क्षेत्रमा पानी जम्ने समस्याको समेत समाधान हुने बताए ।

निर्माणको जिम्मा लिएको इण्डो सगुन जेभीका प्रोजेक्ट म्यानेजर विजय भट्टराईले निर्वाचनका कारण पनि काममा केही ढिलाई भएको बताए । ‘अस्फालको निर्यात कम, महंगी र मौसमका कारण पनि सोचेअनुसार काम हुन सकेको छैन’,उनले भने । उनका अनुसार गोन्द्राङदेखि लायन्सचोकसम्म दुवैतर्फ ९ किलोमिटर नाली निर्माणको काम सकिएको छ अब बाँकी एक किलोमिटर छ । सम्झौता अवधिमा कुनै अवरोेध नभए तोकिएको मितिमै काम सम्पन्न हुने उनको तर्क छ ।

कस्तो बन्दै छ सडक ?

५० मिटर चौडाइको ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजनामा राखिएको छ । सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालय चितवनका प्रवक्ता खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ । सडक डिभिजन भरतपुरका अनुसार पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकोले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ । यही सडकखण्डमा विद्युत लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ । तर, समन्वय भए पनि विद्युत्ले काम सुरु गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>