Breaking News

चितवनमा तीन महिनामा बाघको आक्रमणबाट ९ र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Banner

चितवन, जेठ २५-

चितवनमा विगत तीन महिनामा बाघको आक्रमणबाट नौं जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार जेठ महिनामा मात्र चार जनाको मृत्यु भएको हो । वैशाख र चैतको तथ्यांक हेर्दा दुई महिनामा पाँच जनाको बाघको आक्रमणबाट मृत्यु भएको देखिन्छ । करिब तीन महिनामामात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो अवधिमा ९ जनाको बाघको आक्रमणबाट र एक जनाको गैंडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट स्पष्ट हुन्छ ।

मंगलबार अपरान्ह भरतपुर महानगरपालिका–२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए । उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो। त्यसैगरी जेठ ८ गते भरतपुर महानगरपालिका–१३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न, निउरो खोज्न गएकी फुलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो। ५२ वर्षीया बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब ७०० मिटर पर पु¥याएको थियो । जेठ १६ गते बाघले राप्ती नगरपालिकाको वडा नम्बर १ मा निकुञ्ज भित्र राप्ती नदीको किनारमा गाई बस्तु चराउन गएकी महिलालाई आक्रमण ग¥यो । ५३ वर्षीया सेतीमाया तामाङ घर नजिकै पर्ने निकुञ्जको क्षेत्रभित्र गाई चराउन गएकी थिइन् । अपरान्ह ४ बजेतिर बाघको आक्रमणमा परेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जेठ १७ गते नवजागृति सामुदायिक वनमा निउरो र च्याउ खोज्न गएका बसेनी बरमटोलका ५१ वर्षका चाथर कुमालको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा बाघको आक्रमणबाट मान्छेको मृत्यु हुने क्रम पनि बढेको छ । चितवन निकुञ्जको तथ्यांक अनुसार २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु नभए पनि त्यसपछि बाघको आक्रमण निरन्तर बढ्दै गएको छ । २०७६ सालको चैतयता निकुञ्ज र आसपासका वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु भएको छ । एउटा बाघलाई हिडडुल गर्न झण्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको संख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानवबस्ती वरपरसम्म पुग्ने गरेको विज्ञहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>