Breaking News

भरतपुर अस्पतालको बेथिति, लाइनमा नै बेहोस भएर ढल्छन् बिरामी

Banner

चितवन, जेठ २४-

भरतपुर अस्पतालमा हरेक दिन भीड बढ्दै जादा बिरामीले सास्ती पाएका छन् ।

बिमाको बिरामीहरुले पहिलो उपचार सेवा सरकारी अस्पतालमा मात्र हुने भएकोले पनि हरेक दिन भीड बढ्दै गएको हो । जेठको महिना शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकोले पनि सोमबार बिरामीको अत्यधिक चाप बढ्न गएको छ । भीड बढ्दै जादा बालबालिका, अशक्त र वृद्धवृद्धा बिरामी सबैभन्दा बढी मारमा परेका छन् । कतिपय त लाइनमा ढल्न बाध्य हुन्छन् ।

हिजो सोमबार आफ्नो श्रीमतीसहित अस्पतालमा उपचारको लागि गएका मिनबहादुर बानियाले अस्पतालमा देखेका दृश्य र नागरिकले पाएको सास्तीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले नेपालमा विभिन्न समयमा भएको जनआन्दोलनमा सडकमा प्रदर्शनकारीहरु प्रहरीको गोलीलागेर ढलेजस्तै अस्पतालमा बिरामीहरु ढलेको प्रत्यक्ष देखेको बताएका छन् । उनले भनेका छन्, ‘ जेठ २३ गते सोमबार को दिन म र मेरो श्रीमती उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा जादा लाग्थ्यो २०४६\०६२\०६३ सालको जन आन्दोलनको क्रममा भीड्भाड मा दौडधुप गर्दा देखिन्थ्यो । आन्दोलनकारीहरु बेहोस भै भूईमा अचेत भएको दृश्य जस्तै आज चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा सेवाग्राहीहरुको भीड,अस्पताल प्रशासनको गैह्र जिम्मेवारीपन, सुरक्षाकर्मीको सुन्यता, काउन्टरमा टिकट लिन तछाड मछाड अनियन्त्रित भीडको अवस्था, बाध्य र विवश भै वृद्धअवस्थाका बुबामुमा घन्टौ लाइनमा खलखली पसिना बगाउनु पर्ने, ज्येष्ठ नागरिकको सम्मान गर्छौ भन्ने राज्यले व्यबहारमा लागू गर्न नसक्ने यो को कसको लापरबाही हो ? ’ उनले जेठको गर्मीमा बिरामीहरु भूईमा पछारिन बाध्य भएको बताएका छन् । बिमाको सेवामा डाक्टरले तोके अनुसारको औषधि नपाइने, पूरा शरीर परीक्षण गर्न नपाइने हो भने बिमा गर्नुको कुनै अर्थ नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अभाव, दुर्गन्ध, फोहोर, सेवाग्राहीहरुलाई अनाहकमा दुःख,कष्ट हैरानी दिने काम अबिलम्ब बन्द होस् ।’ उनले सम्बन्धित निकायले दिलचस्पी दिई बेलैमा सबैलाई सहज र सरल बाताबरण हुने काम होस् भनेर माग गरेका छन् ।

अस्पतालमा सोमबार हुने भीडभाडबारे आफू जानकार रहेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताएका छन् । उनले अब छिट्टै अस्पतालमा सी ब्लक सञ्चालनमा आएपछि केही भीड घट्ने आशा गरेको बताए । उनले भने, ‘ भरतपुरमा बिमाको बिरामीहरुको प्रथम बिन्दु् सरकारी अस्पताल भएकोले पनि बिरामीको भीड बढेको छ । दिनमा एक हजार ७०० भन्दा बढी बिरामी एकैपटक अस्पताल पुग्ने भएकोले पनि भीड बढ्न गएको छ ।’ अध्यक्ष अधिकारीले अस्पतालमा बिरामीहरुको चाप बढेर आफूहरुले भोगिरहेको समस्या स्वास्थ्य मन्त्रालयले बुझ्न नसकेको बताए । उनले भने, ‘ स्वास्थ्य मन्त्रालय हाम्रो लागि बच्चालाई चन्द्रमा टाढा कि मुम्बई टाढा भन्दा मुम्बई टाढा भने जस्तै हो । अस्पतालमा आवश्यक दरबन्दीको व्यवस्था गर्ने तर्फ मन्त्रालयको ध्यान छैन । ३० वर्ष अगाडिको कर्मचारी संरचनाले अहिलेको अवस्थामा भरतपुर अस्पताल चल्न सक्दैन ।’ अध्यक्ष अधिकारीले अस्पतालमा देखिएका समस्याहरु बारे आफू र मेडिकल सुपरिटेण्डेन्टलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरे ।

अस्पतालमा मंगलबार उपचारको लागि पुगेकी भरतपुर बसेनीकी गिता अधिकारीले हरेक दिन ओपीडीमा डाक्टरहरु फेरिँदा आफूले जचाईरहेको डाक्टर भेट्न नसकेको भन्दै दुःख पोखिन् । उनले भनिन्, ‘ एउटा डाक्टरले औषधि खानुपर्छ भन्छ अर्काेले पर्देन भन्छ । एउटा डाक्टरले एउटा कम्पनीको औषधि लेख्छ अर्काेले अर्काे कम्पनीको लेख्छ । यसबाट सारै समस्या भएको छ ।’ उनले टिकट काउन्टरदेखि डाक्टरलाई परीक्षणदेखि हरेक काउन्टरमा बस्नुपर्ने लगातारको लाइनले सारै सकस हुन्छ । उनले भनिन्, ‘ हामी जस्तो गरिब र विपन्न व्यक्तिलाई जसरी पनि निजी अस्पतालमा जान बाध्य बनाउने बाताबरण भरतपुर अस्पतालले बनाइरहेको छ । लाइन र धकेलाधकेलले गर्दा त निजी अस्पतालतिर जाऔं जस्तो लाग्छ ।’ उनले चाहेको समयमा विज्ञ डाक्टरहरु भेट्न नसक्ने कारणले पनि समस्या भएको बताइन् ।

फोटो: मिनबहादुर बानिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>