Breaking News

चितवनमा आठ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो सवारी ट्रायल सेन्टर सञ्चालनमा आउने

Banner

चितवन, जेठ २४-

चितवनमा आठ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ ।

भरतपुर महानगरपालिका–८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा दुई बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।

चितवनमा आगामी आर्थिक वर्ष २०७९ र २०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया सुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार ट्रायल सेन्टर आगामी असारको पहिलो सातादेखि सञ्चालनमा आउने छ । २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनको भनाइ छ । प्रशिक्षण केन्द्रमा दुई चक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । ‘हामीले २४ सै घण्टा प्रशिक्षण दिने उद्देश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं’, उनले भने, ‘एकैदिनमा तीन हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’

यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सम्भवत सुविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट ईञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।

उनका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौट गरेको खण्डमा दैनिक एक हजारसम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ ।

हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले जानकारी दिए । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ ओटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>