चितवन विशेष

मिस नेपालको ताज पहिरने दौडमा चितवनकी ऋतुल, झण्डै ९०० प्रतिस्पर्धी उछिन्दै टप २४ मा

०
Banner

मधुसूदन दवाडी

चितवन, जेठ २३

नारायणगढ शहिदचोककी २४ वर्षीय ऋतुल पौडेल मिस नेपालको प्रतिस्पर्धामा होमिएकी छन् ।

झण्डै ९०० प्रतिस्पर्धीलाई पछि पार्दे उनी टप २४ मा परेकी हुन् । उनको सहभागी नम्बर १६ रहेको छ । उनी नारायणको लिटल फ्लावर स्कुलमा पढ्दा बाल्यकालदेखिनै विद्यालयका वक्तृत्वकला प्रतियोगितामा भाग लिने गर्थिन् । अहिले पनि उनको घरमा दर्जनौ प्रमाणपत्र र प्रशंसापत्रहरु सजिएका छन् । नारायणगढका व्यवसायी रमेश पौडेल र शान्ति उपाध्यायको कान्छी छोरी ऋतुलले लिटल फ्लावर स्कुलबाट एसएलसी सकेपछि, अरोमा कलेजबाट १२ कक्षा उतीर्ण गरिन् । पछि काठमाडौँ विश्वविद्यालयअन्तर्गत बालुवाटारको नेशनल कलेजबाट डेभलेभमेन्ट स्टडिजमा स्नातक पूरा गरिन् । त्यसपछि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा संलग्न रहेर काम गरिरहेकी छन् । अहिले उनी काठमाडौँ विश्वविद्यालयमा नै सस्टेनएबल डेभलेभमेन्टमा स्नात्तकोत्तर गरिरहेकी छन् ।

आफू विभिन्न प्रशिक्षणमा भाग लिइरहेकी उनी बिगत १३ दिनदेखि निकै व्यस्त छन् । उनकी दिदी स्वस्तिका पौडेल जो इञ्जिनियर हुन् । उनले नै बहिनीकोबारेमा विभिन्न सूचनाहरु मिडियालाई उपलब्ध गराउँछिन् । स्वस्तिकाले नारायणी अनलाइनलाई भनिन्, ‘ सानैदेखि यस्ता प्रतियोगितामा सफल बन्दै आएकोले पनि यसपटक मिस नेपालको ताज पहिरिनेमा हामी विश्वस्त छौं । परिवारबाट पनि राम्रो सहयोग छ । बुबाआमाले पनि जुन क्षेत्रमा लागे पनि सफल हुनुपर्छ भन्ने सल्लाह दिइरहनु हुन्छ ।’

ऋतुल पढेको नारायणगढको लिटल फ्लावर विद्यालयका प्रिन्सिपल फादर रविले पनि उनको क्षमताको खुलेर प्रशंसा गरे । उनले भने, ‘ उनी सुरुदेखि निकै प्रतिभावान विद्यार्थी हुन् । उद्घोषणकला र अतिरिक्त क्रियाकलापमा उनी सधै अब्बल भइन् । आशा छ उनी मिस नेपाल प्रतियोगितामा पनि सफल हुनेछन् ।’ पढ्ने लेख्ने काम बाहेक उनी देश तथा विदेशका विभिन्न पर्यटकीय स्थलहरु घुम्न चाहन्छन् । त्यसैगरी ऋतुल घरमा बगैँचा सजाउने र मानिसहरुसँग घुलमिल हुने काममा विशेष रुचि राख्छिन् । नागरिकहरुलाई क्यान्सरबारे जनचेतना दिने काममा पनि उनको सक्रियता बढ्दो छ । यसअघि उनी सन् २०१६ मा भारतमा भएको विश्व सांस्कृतिक महोत्सवमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेकी छन् । सन् २०१५मा उनले मिस टिन प्रतियोगिताको दोस्रो रनरअप उपाधि पनि जितेकी हुन् । नेपालको सुशासनबारेमा विशेष अनुसन्धान पनि गरेकी छन् । उनी टीएसीसी बाल क्यान्सरविरुद्ध सँगसँगै भन्ने सामाजिक अभियानको पनि कोषाध्यक्ष हुन् । ऋतुलका परिवार र शुभेच्छुकहरुले उनको सामाजिक सेवा र कर्मले यसपटक मिस नेपालको उपाधि चुम्नेमा ढुक्क छन् । दिदी स्वस्तिकाले भनिन्, ‘यसको लागि सबैसबैको सहयोगको आवश्यकता छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>