चितवन विशेष

चितवनमा सञ्चारकर्मबाट जनप्रतिनिधि बनेका मनोज घिमिरे

Banner

मधुसूदन दवाडी

चितवन, जेठ २२

चितवनको सिनर्जी एफएमका रेडियो कार्यक्रम म्यानेजर मनोज घिमिरेको अहिले सामाजिक भूमिका बदलिएको छ । हिजो वडाका विभिन्न जनसरोकारका विषयमा जनप्रतिनिधिलाई प्रश्न गर्ने घिमिरे अहिले एमालेको तर्फबाट भरतपुर–१ को वडा सदस्य बनेर जनताको समस्या बुझ्दै हिड्न थालेका छन् । उनले चितवनको पहिलो एफएम सीनर्जी एफएमा विसं २०५८ साल कात्तिक २६ गतेबाट पहिलो कार्यक्रम तयार गरेका थिए । उनी चितवनमा रेडियो कार्यक्रम ‘राशीफल’ चलाउने पहिलो रेडियो कार्यक्रम प्रस्तोता हुन् । उनी कामकै सिलसिलामा दुई वर्ष अष्ट्रेलिया पढ्न गए र फेरि फर्किएर नेपाल नै आए । उनको जीवनमा आएको उत्तारचढाब सबैको लागि चासोको विषय बनेको छ । उनले अहिले पनि वडामा केही समय फुर्सद निकालेर सिनर्जी एफएमका सबै कार्यक्रमहरुको व्यवस्थापन गर्छन् ।

वडा सदस्यको रुपमा उनी अहिले विभिन्न वडास्तरका बैठक र कार्यक्रमहरुमा पुग्ने गरेका छन् । रेडियो पत्रकारितामा सक्रिय रहँदारहँदै उनलाई नागरिकका समस्यालाई समाधानका लागि जनप्रतिनिधि बन्ने रहर लाग्यो । उनले भने, ‘ पत्रकारितामा रहँदा र जनप्रतिनिधिको रुपमा काम गर्दा जनताका समस्याबारे जानकारी लिन पाइने रहेछ । पत्रकारितामा रहँदा देखेका सामाजिक समस्या जनप्रतिनिधिले समाधान गर्नुपर्ने हुन्छ । समस्या समाधानमा आफैँ लाग्नुपर्छ भनेर जनप्रतिनिधि बने ।’ उनले अब पाँच वर्ष जनताको प्रतिनिधि बनेर सक्रियताका साथ काम गर्ने सोच बनाएका छन् । वडा सदस्य घिमिरेले भने, ‘ वडा सदस्यकोरुपमा जनताको समस्या समाधान गरेपछि पछि आफूलाई माथिल्लो तहसम्म अगाडि बढाउँदै लैजाने सोच छ । ’ उनले आफूले वडाका समस्याहरु वडा अध्यक्षसम्म पु¥याउने राम्रो अवसर पाएको बताए ।

घिमिरे हरेक दिन टोलटोलमा चाहे बिजुलीको पोल ढल्दा होस् वा बाटो भत्किँदा तत्काल मोटरसाइकलमा कुदेर पुग्छन् । स्थानीय समस्याहरुको बारेमा आफ्नो सामाजिक सञ्जालमा राखेर नागरिकलाई समस्याको समाधान हुने विश्वास दिलाउँछन् । उनले केही दिनअघि मात्र सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुन्दर नारायणी किनारलाई अव्यवस्थित रूपमा देखिरहँदा हामी अत्यन्तै चिन्तित छौं । किनारको ब्यवस्थापन र यी सम्पूर्ण समस्याका समाधानका विषयमा हामी महानगरपालिका तथा समाजका अग्रज व्यक्तित्वहरूसँग छलफल गरेर अगाडि बढ्ने गृहकार्य भइरहेको जानकारी गराउँछु । केही दिन अघिमात्र किनारमा हामी प्राबिधिकसहित गएर निरीक्षण गरिसकेका छौं । वडाले तुरुन्तै काम अगाडि बढाउनकालागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने रहेछ । सो प्रक्रियाहरू अगाडि बढाइरहेको कुरा पनि सम्पूर्ण सरोकारवालाहरू समक्ष जानकारी गराउँछु ।’ त्यसैगरी उनले वडाका नागरिक ३२ वर्षीय सुरेश कुमालको दुवै मृगौंला फेल भएपछि सक्दो सहयोग गर्ने तत्परता जनाउँदै परिवारका सदस्यहरु भेटेर सहानुभूति दर्शाए । रामनगरको विभिन्न चोकमा ढलेका विद्युतीय पोलहरुको विद्युत् प्राधिकरणका कर्मचारी र वडा अध्यक्ष केशव महर्जनसहित संयुक्तरुपमा निरीक्षण गरे तत्कालै समस्या समाधान गर्न विद्युत् प्राधिकरणलाई झक्झक्याउने काम गरे । हिजो जनप्रतिनिधिका कमी कमजोरीका बारेमा रेडियो कार्यक्रममा कडा प्रश्न गरेर झक्झक्याउने घिमिरे अहिले आफैँ जनप्रतिनिधि बनेर नागरिकका समस्या समाधानमा होमिएका छन् ।

सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले सार्वजनिक जनसरोकारका विषयमा आधारित रहेर काम गर्ने रेडियो पत्रकार र जनप्रतिनिधि एकआपसमा मिल्ने पेसा भएकोले उनी सफल जनप्रतिनिधि बन्ने विश्वास व्यक्त गरे । पौडेलले भने, ‘ मनोज घिमिरे कम बोल्ने, मिठो बोल्ने र कामको नतिजा खोज्ने व्यक्ति हुनुहुन्छ । उहाँ जनप्रतिनिधिहरुमा अब्बल बन्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

मनोज घिमिरे जनप्रतिनिधि भए पनि साप्ताहिकरुपमा केही समय सञ्चार क्षेत्रलाई पनि दिइरहेका छन् । उनले अहिले पनि सिनर्जी एफएममा विभिन्न सामाजिक विषयवस्तुमा आफ्नो विचार राख्ने ‘शुभबिहानी’ र ‘साप्ताहिक भेट’ भन्ने दुई कार्यक्रम सञ्चालन गरिरहेका छन् । साप्ताहिक भेटमा उनले चितवनमा साताभरमा चर्चित रहेका जनसरोकारका विषयमा छलफल चलाउँछन् । विज्ञहरुसँग जनसरोकारका विषयमा ज्ञान लिने अवसर पाइने भएकोले पनि उनलाई जनप्रतिनिधिका रुपमा नागरिकको सेवा गर्न सजिलो हुने उनका सहकर्मीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>