Breaking News

भरतपुरमा सडक निर्माणमा चरम लापरवाही, सुरु भएको चार वर्षमा पनि बनेन धर्मचोक सडक

Banner

प्रतिमा कुमाल

चितवन, जेठ १९

नारायणगढको शहिद चोकदेखि धर्मचोक हुँदै कचपचे चोकसम्म पुग्ने सडक निर्माण सुरु भएको चार वर्ष पूरा हुन लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । सरोकारवालाहरु एकले अर्काेलाई दोष दिने प्रवृत्तिले निर्माण कार्य अन्यौलमा परेको हो ।

करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिव शक्ति जेभीसँग यसको सम्झौंता गरेको थियो । सम्झौता अनुसार २०७७ असार मसान्त सम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साल जेठ १९ गते जादा पनि निर्माण पूरा हुन सकेको छैन ।

१० मिटर चौडाइएको यस बाटो निमार्णको लागि सडकको दुबै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । पुराना कालोपत्रे हटाइएको छ । जसले बर्षामा बाटो हिलाम्य हुने गरेको छ । घर अगाडि ढलको ठूला–ठूला खाल्डा, धुलाम्य, हिलाम्य सडक र सडकको बीच–बीचमा बर्षात्ले गर्दा बनेको खाडलले स्थानीय बासिन्दाको दैनिकीमा सकस पु¥याएको छ । यसबाटोमा खनिएका नालीमा परेर अहिलेसम्म दुई जनाको मृत्यु समेत भइसकेको छ ।

भरतपुर–४ धर्मचोकका स्थानीय तथा बजार व्यवस्थापनका सल्लाहाकार श्रीप्रसाद कँडेलले सबै भन्दा ठूलो लापरबाही ठेकेदार कम्पनीबाट भएको बताए । उनले भने, ‘यहाँ सबै भन्दा ठूलो लापरवाही ठेकेदारबाट भएको छ, यहाँको शहरी विकास र तत्कालिन जनप्रतिनिधिको पनि कमी कमजोरी देखियो, दुबै तिर नाली बनाएर मात्र कालोपत्रे भत्काउनु पथ्र्यो । जति नाली बनाउने त्यति मात्र खन्नु पथ्र्यो, जता तदै खाल्डो छ, यसरी विकास निर्माणको काम गर्दा हामीलाई दुःख भयो ।’

चार वर्ष अगाडि केन्द्र बजेटबाटै सडक व्यवस्थित रुपमा बन्ने निर्णयले यहाँका जनता खुसी भएका थिए । तर, गत चैतसम्मको थप म्याद पनि गइसकेको छ । निमार्ण सम्पन्न पार्न दबाब दिन रेलिगेसनमा महानगर, शहरी विकास, जिल्ला प्रशासन कार्यालय, ठेकेदारसम्म पुगेका कँडेलले आस्वासन मात्र पाएको जीकिर गरे । उनले भने, ‘२०७८ सालको चैत ७ पछि काम गर्ने, पिच गर्ने र बाँकी रहेको ठाउँमा फेरि पूनः निर्माण सुरु गर्ने भनियो । कागज मसँग छ, शहरी विकासको हाकिम र ठेकदारको मान्छेले हस्ताक्षर गरेको छ । यसपछि अलिकति सुरु भयो तर काम पूरा भने हुन सकेन । त्यसपछि फेरि गयौं अलिकति काम भयो । स्थानीय चुनाव सुरु भयो । चुनाव पछि काम सुरु हुन्छ भन्नुभएको थियो अत्तोपत्तो छैन ।’

साथै उनले भर्खरै मात्र सकिएको स्थानीय चुनावबाट आएका जनप्रतिनिधिबाट पनि कुनै आशा नरहेको बताए । उनीहरु आउने जाने काम मात्र हुने तर समस्या समाधान नहुँने कँडेलको भनाइ थियो । केन्द्रीय बजेट भएकाले स्थानीय सरकारबाट हेर्न नमिल्ने जवाफ पाएको उनले भने । कँडेलले सरोकारवालाले चाहे नाली, पानी र सडक कालोपत्र १० दिनमै सम्पन्न हुने उनको भनाइ छ ।

चितवन फुडमार्ड पार्टी प्यालेस भरतपुर ४ लंकुका व्यवसायी एमलाल भण्डारी (सर्प दाई) ले सडकको कारणले भएको क्षतिको कुनै लेखा जोखानै नरहेको बताएका छन् । उनले भने, ‘नाली ६ फिटसम्मको गहिरोे छ । यसमा झुकिएर पसे निस्कन सक्दैन । पिपल चोक र कचपचे चोकमा गरी दुई जना मान्छेको मृत्यु नै भइसक्यो । व्यवसायमा असर कति परेको छ, मानसिक असर कति परेको छ, कति ज्यान धनको क्षति भएको छ, कुनै सम्बन्धित निकाय कहिले सोध्न आउदैन र लेखा जोखा नै छैन ।’ भण्डारीले राज्य निरिह भएको गुनासो गरे । केन्द्रबाट भएको काम भएकाले स्थानीय सरकाले पनि हात उठाएको उनले भने । ‘जनप्रतिनिधिले नसके आखिर कस्ले सक्छ त ?’ उनले प्रश्न समेत गरेका छन् । सोधपुछ गर्दा ठेकेदारले धम्की समेत दिने गरेको उनको भनाइ छ ।

अब पनि बाटो नबने महानगरका मेयर, उपमेयर, वडाध्यक्ष सबै घेरिन सक्ने आक्रोश पोखेका छन् । यही ठाउँमा विकास र निकास छैन भने उनीहरु के कामका त ? यो ठाउँ किन हुदैन त । केको लागि हुदैन कसले गर्न दिँदैन त्यो त थाहाँ हुनु प¥यो नि । अप्ठ्यारो परे बालेनले जस्तो लाइभ टेलिकास्ट गर्देऊ नत कार्यक्रम भएको दिन यो यो कारणले भएन फेरि जनता जान्छन् नि त्यहाँ । भित्र मिटिङ के हुन्छ थाहै हुदैन बाहिर आएसी लल भन्ने दुईटा फूलमाला पहिरिने अनि फुलको गुच्छा समाति सके पछि हासेर नमस्कार गरेर विकास त हुदैन, उनले आक्रोश पोखे ।

वेय ग्रुपका संयोजक तथा स्थानीय व्यवसायी भोज नारायण कँडेलले बाटोको काम अलपत्र पर्दा व्यापार व्यवसायमा नोक्सानी बेहोर्न परेको बताएका छन् । बाटो धुलाम्य, हिलाम्य र दैलो अगाडि नालीको लागि खनिएको ठूला ठूला खाल्डा हुदा यात्रुहरु हिड्न छाडेको बताए । उनले भने, ‘यहाँ यति समस्या परेको छ कि व्यापारीहरुको व्यापार छैन । धूलो खानुपरेको छ । हिलोमा हिड्न परेको छ । दुर्घटनाको उस्तै जोखिमहरु छन् । यति बाधा छन् कि सिमानै छैन । चार वर्षमा हामी कति पिरलिएर बस्नु परेको छ । यो कसलाई सुनाउने कति पटक सुनाउने । हामी यो आवाज उठाउँ उठाउँदा थाकेर बस्न बाध्य भएका छौं ।’ साथै कँडेलले साना बालबच्चाहरुलाई कोठामा थुनेर राख्नु परेको दुःखेसो पोखे । शहरी विकास, वडा कार्यालयमा ताला समेत लगाएका कँडेललाई अझै बाटो बन्ने आशा भने रहेको छ ।

के भन्छन् सरोकारवालाहरु ?

सघन शहरी तथा भवन निर्माण आयोजना चितवन प्रमुख प्रकाश अर्यालले ४ वर्षको अवधिमा १७ सय मिटर मात्र काम सम्पन्न भएको जानकारी दिए । करिब ३१ सय मिटर लामो बाटोको अझै १४ सय मिटर बाटो बन्न बाकी रहेको छ । बाँकी रहेको बाटोको ९ सय मिटरसम्मा भने प्राइम गरेर छाडेको अर्यालले बताए ।
समयमा निर्माण कार्य नसकिनुमा विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमण रहेको उनको भनाइ छ । यस्तै पछिल्लो दुई महिला देखि विभिन्न व्यवसायीले मूल्य बृद्धि भयो भन्दै हड्ताल लगायत बहाना देखाउँदा प्रगति सुस्त भएको उनको बुझाइ छ ।

यस समस्याको समाधान गर्न निमार्ण व्यवसायलाई सार्वजनिक रुपमा लिखित, मौखिक ताकेता गर्नेकाम निरन्तर गरिरहेका अर्यालले जानकारी दिए । उनले भने, ‘काम गर्नका लागि दबाब दिरहेका छौं । यो वैशाख भित्र गर्ने प्रतिबद्धता गरेका थिए । तर उनीहरुले पछिल्लो समय प्रतिबद्धता गरे अनुसार काम गर्नसक्नु भएन । हामीले हेरिरहेका छौं । अझै पनि काम गर्न नसके ठूलो एक्सन लिन्छौँ । कालो सूचिमा राख्ने र ठेकदार तोड्न हामी डराउदैनौं । यो असारसम्म कुर्छौं ।’ साथै उनले सम्झौता गरेको ठेकेदारलाई हटाएर अर्कोलाई दिँदा अझै समयसीमा लम्बिने हुँदा जोछ उसैबाट काम होस् भन्ने चाहेको बताए ।

 

निर्माण आयोजनाका लेखा अधिकृत होमनाथ पौडेलले सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजना मध्ये एक रहेको जानकारी दिए । जसका लागि सरकारले ९९ करोड, ९७ लाख, ४ हजार ९ सय ९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैँयामा सम्झौता भएको थियो । शहिद चोकदेखि धर्मचोक र कचपचे चोकसम्मको बाटोका लागि भने मूल्य समायोजन सहित ४६ करोड, ७८ लाख, ३२ हजार ४० रुपैँया भुक्तानी गरेको पौडेलले जानकारी दिए । ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैँयाँ रहेको छ ।

निर्माण ठेक्का पाएको रमण शिव शक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले कोरोनाका कारण देखाउँदै निर्माणको काम हुन नसकेको नारायणी अनलाइनलाई बताए । साथै उनले स्थानीय चुनाव, नदीजन्य सामग्रीको अभाव तथा मूल्य बृद्धि, पेट्रोलिएम पदार्थको मूल्य बृद्धिले गर्दा लामो समय लागेको उनको भनाइ छ । उनले मूल्य समायोजन गर्नका लागि निर्माण व्यवसायी हड्तालमा भएकाले अझैसमय लाग्न सक्ने जीकिर गरे ।

भरतपुर महानगरपालिका वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष अर्पण पोख्रेलले स्थानीय तहको सरकारले नै पहल नगर्दा समयमा निर्माण कार्य नभएको बताए । नयाँ सरकार आएकोले नयाँ पहल गरिने उनको भनाइ छ । २०७४ सालको चुनावबाट सदस्यमा समेत जितेका पोख्रेलले त्यतीखेर पनि यस विषयमा आवाज उठाएको बताए । तर सदस्यको आवाज नसुनिने गरेको उनले भने । आफ्नो पहिलो प्राथमिकतामा यसबाटो रहेको भन्दै उनले अब आफ्नै कार्यकालमा बाटोको काम सम्पन्न गर्ने बताएका छन् । यसरी सडक निर्माणका जिम्मेवार सरोकारवालाहरुले नै विभिन्न बहाना गर्दा नागरिकले विगत चार वर्षदेखि सास्ती पाउन बाध्य छन् । नागरिकको पीडाबारे सरोकारवालाहरुलाई कुनै चासो नै देखिँदैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>