Breaking News
संघीय सरकारबाट भरतपुर महानगरले पायो १ अर्ब ८० करोड २४ लाख बजेट

चितवन, जेठ १९–
चितवनको भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष भन्दा यसवर्ष संघीय सरकारबाट बढी रकम प्राप्त गर्न सफल भएको छ ।
सरकारले भरतपुरलाई आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको हो । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो ।
भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।
यसपटक पनि भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाल निर्वाचित भएकी छन् । यसले गर्दा भरतपुरले विगत भन्दा यसपटक झनै प्राथमिकतामा पाएको देखिन्छ ।
मेयर दाहालकै पहलमा भरतपुरमा ठूल–ठूला आयोजनाहरु आउन सफल भएका छन् । संघीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरि भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छु्ट्याई सकेको छ ।
























