चितवन विशेष

भरतपुरको ज्ञानदर्शन स्कुलमा स्थानीय चुनावकै झल्को दिने गरी स्कुल कप्तानको निर्वाचन सम्पन्न

Banner

चितवन, जेठ १८-

विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आवासीय माध्यमिक विद्यालयले मंगलबार नमुना निर्वाचन गरेको छ ।

सम्भवतःचितवन जिल्लामा पहिलोपटक यस्तो खालको कार्यक्रम गरिएको विद्यालयले जनाएको हो । विद्यार्थीलाई निर्वाचनको बारेमा ब्यवहारिक ज्ञान दिने उद्देश्यले नमुना निर्वाचन गरिएको मतदान अधिकृत सञ्जोक मकाजुले बताए । उनका अनुसार विद्यार्थीलाई निर्वाचनको प्रकियाबारे बुझाउन नमुना निर्वाचन कोसे ढुंगा साबित भएको छ ।

ज्ञानदर्शनको नमुना निर्वाचनले अस्ती भर्खर सम्पन्न स्थानीय निर्वाचनको झल्को दिएको मकाजुले दाबी गरे ।‘निर्वाचन सोचे भन्दा राम्रो भयो, विद्यार्थी उत्साहित हुँदै मतदान गरे , टन्टलापुर घामको प्रवाह नगरी अनुशासित ढंगबाट मतदान गरे , त्यो नै हाम्रो कार्यक्रमको सफलता हो ।’ मकाजुले मतदान पश्चात् खुसी साट्दै भने । नमुना निर्वाचनले विद्यार्थीमा नेतृत्व कलाको विकास भएकोमा आफू खुसी रहेको प्राचार्य मनिस घिमिरेले बताए । मतदान सौहार्दपूर्ण तवरले भएको र अब गणना पनि शान्तिपूर्ण तरिकाले हुनुपर्नेमा प्राचार्य घिमिरेले जोड दिए ।

यता निर्वाचन सकिए लगत्तै मतगणना सुरु भएको छ । विद्यार्थीले विश्वास गरेर पठाएका शिक्षक प्रतिनिधिद्वारा मत गन्न सुरु गरिएको हो । मत गन्न सुरु भएसँगै सुरुवाती १०० मत गनिसकिएको गणक सुरज पौडेलले बताए । पौडेलका अनुसार स्कुल कप्तानमा सुमिना ओझा र रिया भाटको कडा प्रतिस्पर्धा देखिएको हो । ‘कसले बाजी मार्छ, सहजै अनुमान लगाउन गाह्रो छ’, पौडेलले भने । मतदाता शिक्षा दिएकै कारण बदर मतको संख्या भने न्यून रहेको पौडेलको भनाइ छ ।

प्रारम्भिक मतपरिणाम अनुसार सुमिना केही झिनो मतान्तरले अगाडि रहेकी छन् । उनलाइ उनकी निकटतम प्रतिस्पर्धी रियाले पछ्याइरहेकी छन् । यस्तै स्कुल उपकप्तानमा भने सलिना मगरको अग्रता कायम रहेको छ । निकटतम प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पार्दै सलिना अगाडि देखिन्छिन् । अन्तिम मतपरिणाम भोलि विद्यालय खुल्ने समयसम्म आइपुग्ने एक गणकले बताए ।

विद्यालयको माध्यमिक तहमा रहेका करिब २०० विद्यार्थीहरुले विभिन्न ९ पदमा प्रतिनिधि चुन्दै छन् भने उल्लेखित पदहरुमा ५४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनले विद्यालयमा रहेका चार वटा हाउसहरु ब्लु हाउस, यल्लो हाउस, रेड हाउस र ग्रीन हाउसका लागि कप्तान र उपकप्तान पनि चुन्दै छ भने विद्यालयलाई नै विद्यार्थीले नेतृत्व गर्ने स्कुल कप्तान र उपकप्तान चुन्दै छ । यस्तै विद्यालयमा सञ्चालित जुनिएर रेडक्रसको सभापति, उपसभापति, सचिव, कोशाध्यक्ष र सल्लाहकारको पनि मतगणना जारी छ । भर्खर मत गन्न सुरु भएकाले रेडक्रसका उम्मेदवारको मतपरिणाम सार्वजनिक भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>