चितवन विशेष

चितवनमा ४० जना आदर्श आमा तथा सासुआमा सम्मानित

Banner

प्रतिमा कुमाल

चितवन, जेठ १६-

छोरी बुहारीलाई घरबाट बाहिर निस्कन दिन हुदैन भन्ने सोच हाम्रो जस्तो पुरुष प्रधान देशमा अझै छ । अझै पनि हाम्रो सोचमा महिला र पुरुषले गर्न हुने काम र नहुने कामको फराकिलो खाडल देखिन्छ । महिलालाई जन्जिरमा राख्न बनाइएको परम्परा, सोच अहिले परिवर्तन हुदै गएको छ । छोरी बुहारीलाई बाहिर निस्कने अनुमति घरपरिवारले नै दिने गरेका छन् । अहिले नारी आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ भन्ने ज्ञानको विकास भएको छ ।

छोरीबुहारीलाई साथ दिने यस्ता परिवारका आमा तथा सासुआमालाई आदर्श नारी विकास केन्द्र चितवनले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

केन्द्रले आज ७० वर्ष पूरा भएका संस्थामा आवद्ध सदस्यहरुका आदर्श आमा र सासु आमालाई सम्मान गरेको हो ।

केन्द्रको ३१ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति चितवनको सभाहलमा एक कार्यक्रमका बीच ४० जनालाई सम्मान गरिएको थियो । जसमा ३० जना सासुआमा रहेको केन्द्रले जानकारी दिएको छ ।

सम्मानित ८६ वर्षीय हरिमाया बराकोटीले छोरीको कारण सम्मानित हुन पाउँदा खुसी व्यक्त गरिन् । ६ वर्षको बाल्यकालमा ११ वर्षीय बेहुलासँग उनको विवाह भएको थियो । त्यतिखेर चुलो चौकामानै आफ्नो दिन जाने गरेको सम्झिइन् । छोरी हेमा गौतमले पहिला जुन अवस्थाबाट आए पनि आमाले आफूलाई भने कहिल्यै दबाउने काम नगरेको बताइन् । बराकोटीको गौतम एक्लो साहारा समेत हुन् । श्रीमान र जेठी छोरीको निधन भइसकेको उनले बताइन् ।

७४ वर्षीय दुर्गा परियारले छोरी बुहारीलाई साथ सहयोगको आवश्यकता रहेको जीकिर गरिन् । उनीहरुको भावनाको सम्मान र प्रोत्साहन गरे छोरासरह अगाडि बढ्ने उनको बुझाइ छ । दुई छोरी एक छोराकी आमा परियारले आफ्नो पालामा छोरीले पढ्न हुदैन, प्रेम पत्र लेख्छ, पोइल जान्छ भन्ने सोच रहेको बताइन् । अर्काको घरजाने छोरीले पढेर काम छैन । छोराले पाल्छ, उसलाई राम्रोसँग पढाउनुपर्छ । छोरीलाई घरधन्दा सिकाउनुपर्छ भन्ने कुराहरु आफ्नै अभिभावकको मुखबाट सुनेको उनले बताइन् ।
आफूले भोगेका यस्ता कुराहरु आफ्नो छोरीहरुलाई भने कहिले नगरेको परियारको भनाइ छ । तीन सन्तानलाई समान व्यवहार गर्दानै आज छोरीको कारण आफू सम्मानित भएको उनले खुसी व्यक्त गरिन् । परियारको कान्छी छोरी सुकमाया परियार केन्द्रकी सदस्य रहेकी छन् ।

यस्तै ८१ वर्षीय नरेन्द्र कुमारी सापकोटा र ७५ वर्षीय जीप कुमारी घिमिरे बुहारी तथा छोरी सर्मिला सापकोटा प्रति अत्यन्तै आभारी भएको बताइन् । आफ्नो जीवनमा कहिलै यसरी मानिसहरुको बीचमा सम्मान ग्रहण नगरेका उनीहरु दुवैले शर्मिलाको कारण आफूहरु सम्मानित भएको खुसी व्यक्त गरिन् । सापकोटाले छोरा १० दिन घर नआउदा पनि स्वीकार्ने छोरी असल कामका लागि बाहिर हिड्दा गर्ने सोच परिवर्तन गर्नुपर्ने बताइन् । ९ वर्षको उमेरमा परिवारले विवाह गरिदिएका सापकोटा र घिमिरेले पहिले बा आमाले जे भन्यो त्यही गर्नुपर्ने सोच भएकाले आफूहरुले त्यसको विरोध गर्न नसकेको गुनासो गरिन् । अहिलेको अवस्थामा भए आफुहरुले पनि आफ्नो आमा बुबालाई यसरीनै आफ्नो कामबाट सम्मान गर्ने अवसर मिल्ने भावना व्यक्त गरिन् ।

सम्बन्धले सम्धिनी दुबै जनाले छोरीबुहारी बाहिर गए, काम गरे इज्जत जान्छ भन्ने सोचले नै पछि परेको बताइन् । आदर्श नारी विकास केन्द्र चितवनकी अध्यक्ष मिनाकुमारी खरेलले छोरीबुहारीको अग्रतामा जन्मदिने आमा र कर्मदिने आमा दुबैको मुख्य भूमिका हुने भएकाले सम्मान गरिएको बताइन् । आगामी दिनहरुमा पनि यस्ता कार्य गरिने उनको भनाइ छ । साथै उनले महिला, बालिबालिकाको क्षेत्रमा निरन्तर लागिरहेको बताइन् । कार्यक्रममा पूर्वसहायक मन्त्री सावित्री पाठक बोगटीको प्रमुख अतिथि रहेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>