Breaking News
तारा एयरको जहाज दुर्घटना अपडेट: जहाजमा रहेका २२ मध्ये २१ शव फेला

मुस्ताङ, जेठ १६-
मुस्ताङमा आइतबार दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ ।
थासाङ गाउँपालिका–२ सानुसरेमा आज बिहान शव फेला पारिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको जानकारी दिए । सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए ।
त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए । १० जनाको शव कोवाङमा ल्याइसकेको छ ।
शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ । शवको पहिचान भने भइनसकेको उद्धारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।
आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार जना भारतीय र १३ नेपाली यात्रु थिए।
























