देश/प्रदेश

अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू

Banner

काठमाडौँ, जेठ १३-

सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ ।

नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै रु एक खर्ब बढीको आयात भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थमन्त्रालयमा विचाराधीन रहेको उहाँले बताउनुुभयो ।

विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनुहुन्छ । समितिमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।

निगम निजीकरणको प्रचार शतप्रतिशत गलत

सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको मन्त्री बडूले बताउनुभयो । उहाँले गलत प्रचार नगर्नसमेत आग्रह गर्नुभयो । मन्त्री बडूले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । उहाँले निगमलाई बढी व्यवस्थित बनाउन लागिएको उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>