Breaking News
हामी ठिक ढंगले चल्न सकेनौँ भने धेरै बालेनहरू जन्मिनेछन् : झलनाथ खनाल

काठमाडौं, जेठ १२-
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भए पनि कतिपय अधुरा र अपूरा रहेको बताएका छन् ।
बिहीबार नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले भने, ‘नीति कार्यक्रममा धेरै राम्रा छन् । कतिपय अधुरा, अपूरा कुराहरू छन् ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले खाद्यान्न संकट आउनसक्ने सम्भावना भएकाले त्यसमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
कृषकले उत्पादन गरेको उपजलाई बजारमा पुर्याउने र मूल्य दिने नीति हालसम्म बन्न नसकेको उनले बताए । राज्यले समर्थन मूल्य नदिएसम्म उत्पादन नबढ्ने उनको भनाइ छ । त्यसमा नीति कार्यक्रमले ध्यान दिन नसकेको उनको टिप्पणी छ । त्यसैगरी खनालले संविधानको मर्म र भावनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । संसद्को पाँच वर्षको आयु टुंगिन लागेको बताउँदै उनले अन्तिम कार्यक्रममा पनि संविधानबमोजिम राष्ट्र अघि बढ्ने भन्ने कुरा समेटिन नसकेको बताए ।
खनालले सिंगो भूमिको टुक्रा क्लिक गरेर हेर्न सक्ने तथ्यांक अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै भूसम्पत्तिको वितरण अन्यायपूर्ण रहेको भन्दै उनले त्यसलाई न्यायोचित बनाउनुपर्नेमा जोड दिए । यी कुराहरू गर्न नसके राजनीतिक दलहरूको अस्तित्व समाप्त हुँदै जाने र काठमाडौं महानगरपालिकाको मेयर पदको नजिक पुगेका बालेन साहजस्ता व्यक्तिहरू जन्मने उनले बताए ।
‘त्यसो गर्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जानेछौँ । धेरै बालेनहरू जन्मिनेछन् । बालेनहरूले राज्य गर्नेछन् । पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुँदै जाने छ । यदि ठिक ढंगले चल्न जानेनौँ र सकेनौं भने’ उनले भने ।
























